कम्बोडिया, अष्ट्रेलिया, पाकिस्तान, श्रीलंका र लाओसका संसद् प्रमुखलाई सहयोगको अपिल

कम्बोडिया, अष्ट्रेलिया, पाकिस्तान, श्रीलंका र लाओसका संसद् प्रमुखलाई सहयोगको अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कम्बोडिया – इन्टरपार्लियामेन्ट्री स्पिकर्स कन्फ्रेन्समा सहभागी हुन कम्बोडिया गएका राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न देशका सभामुखसँग भेट गरी नेपाललाई सहयोग गर्न अपिल गरेका छन् ।

अध्यक्ष दाहालले कम्बोडिया सिनेटका अध्यक्ष समदेक तेचो हुन सेन, अष्ट्रेलियाका सभामुख मिल्टन डिक, श्रीलंकाका सभामुख जगत विक्रमरत्ने, पाकिस्तानको सिनेटका अध्यक्ष युसुफ रजा गिलानी र लाओसको राष्ट्रिय सभाका कार्यबाहक अध्यक्ष सुनथोने सायाचाकसँग छुट्टाछुट्टै भेट गरी नेपाललाई मानवीय सहयोगका लागि अपिल गरेका हुन् ।

भेटमा अध्यक्ष दाहालले नेपालले अकल्पनीय प्राकृतिक विपद्को सामना गर्नुपरेको बताउँदै ठूलो मानवीय र भौतिक क्षति भएको जानकारी गराएका थिए । उनले विपद्को परिणाम अकल्पनीय भएको उल्लेख गर्दै नेपाल गम्भीर प्राकृतिक विपद्को दु:खमा परेको बताए ।

भेटवार्ताको क्रममा ५ वटै देशका सभामुख तथा अध्यक्षहरूले नेपालले भोग्नुपरेको अकल्पनीय पीडामा दु:ख व्यक्त गर्दै नेपाल सरकारसँग समन्वय गरी आ–आफ्नो देशको तर्फबाट मानवीय सहयोग तथा राहतका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेटवार्तामा अध्यक्ष दाहालले द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोग आदानप्रदानका लागि अनुरोध गरेका थिए । उनले संसद्हरूले संसदीय सहकार्यका साथै आपसी हितका लागि राष्ट्रहरूबिचको सम्बन्ध बलियो बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

यसैबिच सम्मेलनको मुख्य सत्रमा कम्बोडिया र पाकिस्तान सिनेटका अध्यक्ष तथा अष्ट्रेलियाका सभामुखले आफ्नो सम्बोधनका क्रममा नेपालले भोग्नुपरेको प्राकृतिक विपद्प्रति दु:ख व्यक्त गर्दै विश्व समुदायलाई सहयोगका लागि अपिल गरेका थिए ।

अन्तरव्यवस्थापकीय सभामुख/अध्यक्ष सम्मेलनको कम्बोडिया घोषणा पत्रमा नेपालले भोग्नुपरेको पीडाप्रति सहानुभूति व्यक्त गर्दै विश्व समुदायलाई सहयोगका लागि अपिल गरेको छ ।