काठमाण्डु– त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी रहँदा मृतकको संख्या ६ सय २६ पुगेको छ ।
शनिबार दिउँसो २ः५० बजेसम्मको विवरणअनुसार विभिन्न आठ जिल्लामा ती शव फेला परेका हुन् ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चितवनमा सबैभन्दा बढी २ सय ३३ जनाको शव भेटिएको छ ।
यस्तै नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ । यस्तै नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
बाढीपछि प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी खोज तथा उद्धारलाई निरन्तरता दिइएको र अहिलेसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको जानकारी प्रहरीले दिएको छ ।
नुवाकोटबाट १ हजार ६ सय २२, रसुवाबाट ६ सय ७६ र धादिङबाट तीन जनालाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको प्रहरीले जनाएको छ ।
बाढीमा परी घाइते भएका १ सय ४० जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार जारी छ । केही उपचारपछि अस्पतालबाट डिस्चार्ज समेत भएका छन् ।




प्रतिक्रिया