बाढीमा हराएकाहरूलाई खोज्न कोरियाली टोली रसुवा प्रस्थान

बाढीमा हराएकाहरूलाई खोज्न कोरियाली टोली रसुवा प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत दक्षिण कोरियाली नागरिकसहित नेपाली नागरिकको खोजी तथा उद्धारका लागि कोरियाली कम्पनीको टोली रसुवातर्फ प्रस्थान गरेको छ ।

दक्षिण कोरियाली कम्पनी दुसान इनर्जिबिलिटी र कोरिया साउथ–इस्ट पावर का कर्मचारी कार्यरत आयोजनास्थल बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित भएको छ ।

पछिल्लो विवरणअनुसार दुवै कम्पनीका गरी ९ जना दक्षिण कोरियाली कर्मचारी अझै सम्पर्कविहीन छन् । तीमध्ये ६ जना दुसान इनर्जिबिलिटी र ३ जना कोरिया साउथ–इस्ट पावरका कर्मचारी रहेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

खोजी तथा उद्धार कार्यका लागि आएको कोरियाली कम्पनीको टोलीको नेतृत्व कम्पनीका व्यवस्थापक सञ्जु पार्कले गरेका छन् । टोलीलाई नेपाली नागरिक प्रकाश पन्तले सहजीकरण तथा स्थानीय समन्वय गरिरहेका छन् । पन्त दुवै कोरियाली कम्पनीसँग आबद्ध रहेकाले उद्धार टोली, कम्पनी व्यवस्थापन, स्थानीय पक्ष तथा सम्बन्धित नेपाली निकायबिच समन्वय गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

दैलेख जिल्ला, दुल्लु नगरपालिका–१२ का स्थायी बासिन्दा पन्तले नेपाली पक्षबाट टोलीको सहजीकरण गरिरहेका छन् । विपद् प्रभावित क्षेत्रमा उद्धार टोलीको आवागमन, स्थानीय तह तथा सम्बन्धित निकायसँग सम्पर्क, आवश्यक सूचना आदानप्रदान तथा खोजी र उद्धार कार्यमा उनले समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् ।

पन्तको समन्वयमा कोरियाली टोली श्री एयरलाइन्सको हेलिकप्टरमार्फत रसुवातर्फ प्रस्थान गरेको छ । टोलीले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा रहेका कोरियाली नागरिकसँगै नेपाली नागरिकको समेत खोजी, उद्धार तथा आवश्यक परे पुरिएका व्यक्तिको उत्खननमा सहयोग गर्ने तयारी गरेको छ ।

कोरियाली टोलीको प्राथमिकता सम्पर्कविहीन आफ्ना नागरिकको खोजी भए पनि विपद्को मानवीय पक्षलाई ध्यानमा राख्दै प्रभावित नेपाली नागरिकको खोजी तथा उद्धारमा समेत आवश्यक सहयोग गर्ने तयारी गरिएको जनाइएको छ ।

रसुवामा बाढी आएको चौथो दिनसम्म दुसान इनर्जिबिलिटीका ६ जना र कोरिया साउथ–इस्ट पावरका ३ जना गरी ९ जना दक्षिण कोरियाली कर्मचारी सम्पर्कविहीन रहेको योनहापले जनाएको छ । यसअघि अर्को स्थानमा अलपत्र परेका दुसानका १० जना कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको थियो ।

कोरियाली कम्पनीका कर्मचारी कार्यरत अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माणस्थलमा ठूलो भौतिक क्षति पुगेको छ । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार आयोजनाको माथिल्लो बाँध क्षेत्रको करिब ९० प्रतिशत संरचना बाढीले बगाएको तथा निर्माणकर्मी बस्ने आधार शिविरको ठूलो हिस्सा ध्वस्त भएको छ ।