चितवनको जंगलमा खाल्डो खनेर शव व्यवस्थापन, आफन्तसँग डीएनए मिलेमा जिम्मा लगाइने

चितवनको जंगलमा खाल्डो खनेर शव व्यवस्थापन, आफन्तसँग डीएनए मिलेमा जिम्मा लगाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशीको विनाशकारी बाढीमा बगेर चितवन पुगेका सयौँ शवलाई व्यवस्थापन गर्न जंगलमा खाल्डो खनेर सुरक्षित गरिने भएको छ ।

नारायणी नदी किनारमा फेला परेका पहिचान नखुलेका शवहरूको व्यवस्थापन सुरु गरिएको छ ।

चितवनमा फेला परेका २३३ शवमध्ये हालसम्म ५ जनाको मात्र सनाखत भएको र बाँकी शवहरू सड्न–गल्न थालेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम गाड्ने प्रक्रिया थालिएको छ ।

अस्पतालमा लामो समय फ्रिजिङ गरेर राख्न सम्भव नभएको र शवबाट दुर्गन्ध फैलिनुका साथै महामारी तथा संक्रमणको जोखिम उच्च भएपछि प्रशासनले व्यवस्थापन गर्न लागेको छ ।

भरतपुर महानगरपालिका–१ रामनगर–देवघाट सडकखण्ड नजिकको जंगलमा खाल्डो खनेर त्यसमा सबै शव सुरक्षित राखिनेछ । सुरक्षाकर्मीको प्रत्यक्ष उपस्थितिमा २ वटा डोजर प्रयोग गरी करिब १.५ मिटर गहिरा ३ वटा ठूला खाडल खनिएका छन् । खाडल खन्दा जंगलमा रहेका सालका रुखहरूलाई जोगाइएको छ ।

पहिचान नखुलेका सबै शवहरूलाई ‘डेड बडी ब्याग’भित्र सुरक्षित पारेर खाल्डोमा राखिने चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले जानकारी दिए । उनका अनुसार शव व्यवस्थापनका लागि आवश्यक ब्याग पर्याप्त मात्रामा उपलब्ध रहेको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) विपद् व्यवस्थापन मापदण्डअनुसार प्रत्येक शवलाई एकातर्फ खुट्टा र अर्कोतर्फ टाउको मिलाएर लस्करै राखिनेछ । एउटा शव र अर्को शवबिच ४० सेन्टिमिटरको दूरी कायम गरिनेछ । शवको पहिचानपछि खोज्न सजिलोका लागि विशेष कोडिङ प्रणाली लागू गरिएको छ । प्रत्येक शवको हात वा खुट्टामा कहिल्यै नष्ट नहुने नम्बर सहितको ट्याग बाँधिनेछ ।

शवलाई माटोले पुरेपछि जमिनमाथि १ फिटको ढलान गरी बाहिरबाटै प्रस्ट देखिने गरी सोही कोड नम्बर सहितको स्ट्यान्ड खडा गरिनेछ ।

शव गाडिए पनि पहिचान र खोजीको प्रक्रिया निरन्तर जारी रहनेछ । समाधिस्थ गर्नुअघि प्रत्येक शवबाट डीएनए परीक्षणका लागि नमूना संकलन गरी सुरक्षित राखिएको छ । बेपत्ता भएका व्यक्तिका आफन्तले सम्बन्धित जिल्ला अस्पतालमा डीएनए नमूना दिएर पहिचान प्रक्रिया अगाडि बढाउने एसपी पौडेलले बताए । उनले भने, ‘सुरक्षित राखिएको डीएनए र परिवारको डीएनए परीक्षण म्याच भएको खण्डमा जमिनमाथि राखिएको संकेत नम्बरका आधारमा शव निकालेर ससम्मान परिवारको जिम्मा लगाइनेछ ।’