हिमनदी भत्किँदा कसरी घातक पहिरो र बाढी निम्तियो ? यस्तो छ विज्ञको भनाइ

हिमनदी भत्किँदा कसरी घातक पहिरो र बाढी निम्तियो ? यस्तो छ विज्ञको भनाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल र चीनको तिब्बतमा सयौँ मानिसको ज्यान जाने गरी भएको तीव्र हिम–चट्टान पहिरो र आकस्मिक बाढी हिमनदीको तल्लो भाग भत्किएर सयौँ मिटर तल उपत्यकाको फेदीमा खस्दा निम्तिएको देखिएको छ ।

हिमनदी किन भत्कियो भन्ने स्पष्ट भइसकेको छैन । नेपाली अधिकारीहरूले सुरुमा उक्त क्षेत्रमा गएको भूकम्पलाई सम्भावित कारणका रूपमा औँल्याएका थिए । तर अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले पछि रिपोर्ट गरिएको कम्पन वास्तवमा हिमनदीमा रहेको चट्टान र बरफ भत्किँदा उत्पन्न भूकम्पीय ऊर्जा भएको र त्यसपछि लेदोसहित बाढी आएको जनाएको थियो ।

तर स्याटेलाइटबाट प्राप्त तस्बिरहरूले केही दिनअघिको तस्बिरसँग तुलना गर्दा लाङटाङ लिरुङ हिमालको नजिकै रहेको हिमनदीको ठूलो भाग छुट्टिएर भत्किएको देखाएका छन् ।

बरफ र चट्टानको ठूलो पहिरो नेपाल–तिब्बतको हिमाली सीमासँगै बग्ने ल्हेन्दे खोला हुँदै तल झरेको थियो ।

लेदोसहितको बाढी तिब्बतको केरुङ बन्दरगाह र नेपालतर्फ समेत पुगेपछि तीव्र गतिका आकस्मिक बाढी आएका थिए । बाढीले सडक, जलविद्युत् आयोजना र बस्तीहरूमा ठूलो क्षति पुर्‍याएको छ ।

प्रमाणित भिडियोहरूमा सीमाक्षेत्रमा दर्जनौँ मानिस बाढीको भेलमा बगेको देखिएको थियो । चिनियाँ सरकारी भूगर्भविद् गुओ झाओचेङका अनुसार लेदोसहितको बाढी निम्त्याउने हिम–पहिरो करिब ५० मिटर (१६५ फिट) प्रतिघण्टा होइन, प्रतिसेकेन्डको गतिमा बगेको थियो । त्यसका कारण मानिसहरूले प्रतिक्रिया जनाउने समयसमेत निकै कम पाएका थिए। उक्त बाढी २० किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको थियो।

हिमनदी भत्किएपछि उत्पन्न बाढीको पानी नेपालका विभिन्न जिल्लाबाट तीव्र गतिमा बगेको थियो । यसले १०० किलोमिटरभन्दा बढी तल, भारतीय सीमाना नजिकसम्म नदीका धारसमेत परिवर्तन गरेको थियो । हिमालयबाट ४,५०० मिटरभन्दा बढी उचाइ घट्दै बाढी तलतर्फ आएको थियो ।

इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) ले बुधबार आकस्मिक बाढीले भोटेकोसी र त्रिशूली नदी प्रणाली हुँदै पानी, माटो तथा ठूला ढुंगाको शक्तिशाली बहाव ल्याएको जनाएको थियो । उसले तल्लो क्षेत्रमा रहेको गल्छीमा नदीको जलस्तर ३० मिनेटभित्रै ९ मिटर (३० फिट) सम्म बढेको बताएको थियो ।

जलवायु परिवर्तनको भूमिका

अर्थ साइन्सेस न्युजिल्यान्डको ‘माउन्टेन्स टु सी’ कार्यक्रमका प्रमुख वैज्ञानिक साइमन कोक्सले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा चट्टान र बरफलाई अस्थिर बनाउन सक्ने अवस्था सिर्जना गरिरहेको बताएका छन् ।

उनका अनुसार यसले यसै साता देखिएको जस्तो हिमनदी भत्किने र त्यसपछि एकपछि अर्को विपद् निम्तिने घटना अझ बढी हुने सम्भावना बढाउँछ।

यद्यपि विज्ञहरूले बुधबार भएको हिमनदी भत्किने घटनाको तत्काल र एकमात्र कारण जलवायु परिवर्तनलाई भन्न हतार गर्न नहुने बताएका छन् । तर बढ्दो तापक्रम र हिमनदी पग्लिने प्रक्रियाले विपद्मा भूमिका खेलेको हुन सक्ने उनीहरूको भनाइ छ ।

कोक्सका अनुसार तापक्रम बढ्दा ठाडा भिरालो क्षेत्रमा बरफले दिने सहारा कम हुन सक्छ, हिमपग्लिने पानी बढ्न सक्छ र जम्ने–पग्लिने तथा वर्षाको स्वरूपमा परिवर्तन आउन सक्छ । यसले पहाडका भिरालो भागलाई कमजोर बनाउँदै केही स्थानमा ठूलो भू–भाग भत्किने सम्भावना बढाउन सक्छ ।