पहिरोले चमेलिया नदी आधा थुनियो, नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

पहिरोले चमेलिया नदी आधा थुनियो, नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा गएको पहिरोले चमेलिया नदी आधा थुनिएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ।

शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको र नदी थप थुनिन सक्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरो नरोकिए नदी पूर्णरूपमा थुनिन सक्ने सम्भावना छ।

नदी पूर्णरूपमा थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा बाढी आउन सक्ने जोखिम रहेकाले प्रशासनले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले सम्भावित जोखिमबाट बच्न तथा धनजनको क्षति न्यूनीकरणका लागि तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक र सम्बन्धित निकायलाई सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ।

‘अपिहिमाल गाउँपालिका-१ भट्टारस्थित चौलानी (चमेलिया) नदीमाथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको र हाल पहिरो आउने क्रम जारी रहेकाले पूरै थुनिन सक्ने सम्भावना रहेको हुँदा सम्भावित जोखिमबाट बच्न र धनजनको क्षति न्यूनीकरण गर्न उक्त नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरू, सम्बन्धित निकायहरूमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ।