काठमाण्डु– नेपाली सेनाले बाढीपहिरोलगायत विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ।
नेपाली सेनाका अनुसार शनिबार साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत २ जना विदेशी नागरिकसहित ३९ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये एक जना अमेरिकी र एक जना चिनियाँ नागरिक रहेका छन्। हालसम्म नेपाली सेनाले हवाई माध्यमबाट २७५ जना विदेशीसहित ३ हजार ९९७ जनाको उद्धार गरिसकेको छ।
नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले एक्रो ब्रिज जडान गरिरहेको छ।
जलविद्युत् आयोजनाका सुरुङमा खोजी जारी
रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा संयुक्त उद्धार टोलीले छैटौँ तलासम्म पुगेर खोजी गरे पनि हालसम्म कोही फेला परेको छैन। पाँचौँ तलासम्म लेदोले भरिएकाले थप खोजी कार्य जारी छ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ।
त्यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ८९, गैरसैनिक ३ तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले तीनवटा बबक्याट र जेनेरेटर प्रयोग गरी खोजी गरिरहेको छ। एक्स्काभेटर लैजान सकिने गरी अडिट–२ टनेलको बाटोसमेत सफा गरिएको छ।
चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले मिनी एक्स्काभेटर र मड पम्पको प्रयोग गरी सुरुङभित्र जमेको लेदो हटाउँदै पुनः १०५ मिटरभित्रसम्म पुगेर खोजी कार्य गरिरहेको छ।
प्रभावित क्षेत्रमा जमिनी खोजी र राहत
नेपाली सेनाले मैलुङदेखि स्याफ्रुबेंसीसम्मका प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोज तथा उद्धार कार्य गरिरहेको छ।
त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत आज ३१ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। हालसम्म ती केन्द्रबाट ३ हजार २९७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। उनीहरूले घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।




प्रतिक्रिया