बाढीले गोरखामा घर र पुल बगायो, विभिन्न सडक अवरुद्ध

बाढीले गोरखामा घर र पुल बगायो, विभिन्न सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गोरखामा बाढी र पहिरोले घर र पुलमा क्षति भएको छ । पहिरोका कारण विभिन्न राजमार्ग पनि अवरुद्ध भएको छ ।

गोरखको चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ । आइतबार आएको बाढीले चुमनुब्री–४ स्थित नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुल बाढीले लगेपछि मनास्लु पदयात्रामा गएका पर्यटकहरु समस्यामा परेका छन् ।

सो खोला बूढीगण्डकीसँग मिसिने हुँदा बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।

ललितपुरको बाग्मती गाउँपालिका–३ भट्टेडाँडास्थित टाकुर्चेमा खसेको पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध बनेको छ ।

ललितपुर प्रहरीका अनुसार पहिरो झर्ने क्रम नरोकिएकोले शनिबार साँझदेखि यो राजमार्गमा सवारी साधनहरू चल्न सकेका छैनन् ।

यस्तै बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।

मार्तडीस्थित बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

यस्तै, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं ६ को जडांगलगायत स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए।

यसैगरी अविरल वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कालीकोटको गगने खोलामा रातिदेखिको लगातार वर्षासँगै ठूला ढुंगासहितको पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।