बाढीमा बगेका ४ हजार ९९६ जना अझै बेपत्ता

बाढीमा बगेका ४ हजार ९९६ जना अझै बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रसुवा बाढीमा परी हालसम्म १ हजार ३४१ जनाको मृत्यु भएको छ भने ४ हजार ९९६ जना सम्पर्कविहीन रहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो विवरण आइतबार बिहान ११ बजे सम्मको हो ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी शव चितवनमा भेटिएकाे छ । चितवनमा ३६२, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२०, नुवाकोटमा १९५, रसुवामा १६३, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ।

यस्तै, बाढीमा घाइते भएका ६ हजार ७५ जनाको उपचार गरिएको छ। विभिन्न अस्पतालमा ३१६ जना, नेपाली सेनाबाट ३ हजार २९७ जना र सशस्त्र प्रहरीबाट २ हजार ४६२ जनाले स्वास्थ्य उपचार पाएका छन्।

हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले १३ हजार ९०४ जनाको उद्धार गरेका छन्। उद्धार गरिएकामध्ये ३०४ जना विदेशी नागरिक रहेका छन्।

विपद्पछि खोज तथा उद्धारका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाल प्रहरीका ७ हजार ९७५, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन्।

सरकारले प्रभावित रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको प्राधिकरणले जनाएको छ। साथै, प्रभावित क्षेत्रमा खाद्यान्न तथा गैरखाद्य सामग्री पठाउने र हवाई माध्यमबाट उद्धार तथा राहत वितरणको काम जारी रहेको छ।