ललितपुरमा १७ हजार ४०० ट्रामाडोल क्याप्सुलसहित २ जना पक्राउ

ललितपुरमा १७ हजार ४०० ट्रामाडोल क्याप्सुलसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुर महानगरपालिका–९ च्यासलबाट प्रहरीले १७ हजार ४०० क्याप्सुल ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले लागूऔषध कारोबार भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भई सातदोबाटोमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुलमा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय सुजित देउला रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट ट्रामाडोल ५८ बक्समा रहेका १ हजार ७४० फाइल अर्थात् १७ हजार ४०० क्याप्सुल बरामद भएको छ । लागूऔषध ओसारपसारमा प्रयोग भएको भनिएको होन्डा डियो स्कुटर समेत बरामद गरिएको छ ।

प्रहरी विवरणअनुसार ‘केजी एफ च्याप्टर–२’ नामले नेपालमा लागूऔषधको ठूलो सञ्जाल सञ्चालन गर्ने समूहविरुद्ध यसअघि पनि इन्टेलिजेन्स ब्युरोबाट खटिएको विशेष टोलीले अपरेसन गरी २ लाखभन्दा बढी ट्रामाडोल क्याप्सुल बरामद गरेको थियो ।

समूहका नाइकेका रूपमा उल्लेख गरिएका वीरधोज तामाङ उर्फ वीरु कारागारबाटै कारोबार सञ्चालन गरिरहेको प्रहरी विवरणमा उल्लेख छ । पक्राउ परेका र बरामद लागूऔषधबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।