काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण चीनको केरुङ्ग नाकामा अलपत्र परेका ५७६ जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ ।
उनीहरूलाई नेपाल–चीन सीमावर्ती कोदारी नाका हुँदै सकुशल स्वदेश फर्काइएको हो ।
चीन सरकारको विशेष सहयोग तथा सीमा नाकामा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण एवं समन्वयमा उनीहरूलाई सुरक्षित रूपमा काठमाण्डुतर्फ पठाइएको छ । स्थलमार्ग अवरुद्ध भई चीनतर्फ रोकिएका नेपाली नागरिकहरूलाई भदौ १८ गतेदेखि भदौ २२ गतेसम्म सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी नाकाबाट नेपाल प्रवेश गराइएको छ ।
सो नाकाबाट भदौ १८ गते ११४ जना, १९ गते रसुवाका १४५, धादिङका १ र काठमाण्डुका ९ गरी जम्मा १५५ जनालाई नेपाल फर्काइएको छ । भदौ २० गते ९६ जना, २१ गते दिउँसो १०५ जना र २२ गते दिउँसो १०६ जनालाई समेत नेपाल फर्काइएको छ ।
उनीहरूलाई स्थानीय तह तथा विभिन्न संघसंस्थासँगको समन्वयमा सवारीसाधनहरूको व्यवस्था गरी काठमाण्डुतर्फ पठाइएको छ । सीमा क्षेत्रमा नागरिकको सुरक्षित उद्धार तथा आवागमन सहजीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तातोपानीबाट सशस्त्र प्रहरी नायव निरीक्षक भूपबहादुर बुढाथोकीको कमाण्डमा १५ जनाको विशेष टोली निरन्तर परिचालन भएको छ ।




प्रतिक्रिया