काठमाण्डु– अमेरिकी दूतावासले मेगन बोल्डिनलाई आगामी केही महिनाका लागि नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत नियुक्त गरेको छ।
मंगलबार अमेरिकी दूतावासले फेसबुकमा लेख्दै बोल्डिनलाई कार्यवाहक अमेरिकी राजदूत नियुक्त गरेको जनाएको हो ।
नेपालमा आएको बाढीपछि राहत तथा पुनर्लाभका काममा दूतावासको समन्वय गर्न बोल्डिनले नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गर्ने दूतावासले जनाएको छ। बाढीबाट प्रभावित अमेरिकी नागरिकलाई सहयोग गर्नु उनको प्राथमिकतामा रहनेछ।
यसअघि बंगलादेशस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत बोल्डिनले सन् २०२४ अगस्टदेखि उक्त जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
वरिष्ठ परराष्ट्र सेवाकी करिअर सदस्य बोल्डिनसँग संकट व्यवस्थापन, कूटनीति तथा नेतृत्वको व्यापक अनुभव छ। उनले युक्रेन, इराक, बंगलादेश र वासिङ्टनस्थित अपरेसन्स सेन्टरमा समेत जिम्मेवारी सम्हालिसकेकी छिन् ।
दूतावासका अनुसार, राहत तथा पुनर्लाभका प्रयास जारी रहेका बेला बोल्डिनको नेपाल आगमनले नेपाल सरकार तथा साझेदारहरूसँग सहकार्य गर्ने अमेरिकी प्रतिबद्धतालाई थप बलियो बनाउनेछ।




प्रतिक्रिया