बाढीपहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार तीव्र, ४ सुरुङ उद्धारमा के भयो प्रगति ?

बाढीपहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार तीव्र, ४ सुरुङ उद्धारमा के भयो प्रगति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बाढीपहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, राहत र पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ।

नेपाली सेनाका अनुसार साँझ ७ बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप ८१ जनाको उद्धार गरिएको जनाएकाे छ। हालसम्म हवाई माध्यमबाट स्वदेशी ३ हजार ७९८ र विदेशी २८३ गरी कुल ४ हजार ८१ जनाको उद्धार गरिएको छ।

रसुवागढी जलविद्युत आयोजनामा नेपाली सेनाको संयुक्त शीघ्र प्रतिकार्य टोली तथा आयोजनाका प्रतिनिधिसहितको टोलीले विद्युतगृह र नियन्त्रण केन्द्रसम्म पुगेर खोजी गरिरहेको छ। रसुवा भोटेकोशी जलविद्युत आयोजनाको रोङ्गास्थित केबल सुरुङमा ड्रोन प्रयोग गरी खोजी गर्दा एक जनाको शव फेला परेको र थप खोजी जारी रहेको सेनाले जनाएको छ।

लाङटाङ जलविद्युत आयोजनामा संयुक्त उद्धार टोलीले खोज तथा उद्धार जारी राखेको छ। चिलिमे जलविद्युत आयोजनामा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले ६/६ मिटर लम्बाइका चारवटा ठूला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटो निर्माण गरेको छ।

स्याफ्रूबेसीदेखि चिलिमे जलविद्युत आयोजनाको सुरुङसम्म भारी उपकरण लैजान सडकमा रहेको ठूलो ढुंगा विस्फोट गराई हटाइएको छ। साथै, भग्नावशेष हटाउन तान्ने मेसिन र बाल्टी प्रयोग भइरहेको छ। संयुक्त टोली सुरुङभित्र ११५ मिटरसम्म प्रवेश गरी खोजी गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ।

माथिल्लो त्रिशूली–१ आयोजनामा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले मुख्य प्रवेश सुरुङमा करिब ४०० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ। त्रिशूली–३ ‘ए’ को विद्युतगृह तथा सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ।

त्रिशूली–३ ‘बी’ आयोजनाको कार्यालय तथा आवासगृह क्षेत्रमा नेपाली सेनाका १०१ जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले तीनवटा डोजर प्रयोग गरी करिब २३ फिट गहिराइसम्म खनेर खोजी गरेको भए पनि हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ।

पुल निर्माण तथा मर्मतमा पनि तीव्रता

बाढीबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण तथा आवागमन सहज बनाउन नेपाली सेनाले पुल निर्माण तथा मर्मतको कामसमेत अघि बढाएको छ।

नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माणको काम तीव्र रूपमा गरिरहेको छ।

बाढीबाट क्षतिग्रस्त भएका मर्मतयोग्य पाँचवटा झोलुङ्गे पुलको मर्मत भइरहेको तथा थप १५ वटा झोलुङ्गे पुलको मर्मतका लागि तयारी भइरहेको सेनाले जनाएको छ। त्रिशूली बजार जोड्ने करिब २५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि परामर्शसहित काम सुरु गरिएको छ।

९ हजारभन्दा बढी सैनिक परिचालन

प्रभावित क्षेत्रको मैलुङदेखि स्याफ्रूबेसीसम्म नेपाली सेनाले पैदल गस्तीमार्फत खोज तथा उद्धार गरिरहेको छ। त्रिशूली र धुन्चेमा सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा स्वास्थ्य टोलीबाट हालसम्म ३ हजार ४८८ जनाले स्वास्थ्य सेवा लिएका छन्।

नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा ९ हजारभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्।

उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने र आपत्कालीन उपचारलगायतका काम गरिरहेको नेपाली सेनाले जनाएको छ।