यूएईले पठायो ३८ टन राहत सामग्री

यूएईले पठायो ३८ टन राहत सामग्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालका बाढीपीडितका लागि चौथो लटमा ३८ टन राहत पठाएको छ ।

मानवीय सहायता अभियानअन्तर्गतको राहत सामग्री काठमाण्डु आइपुगेको छ । योसँगै यूएईले कुल १८६ टन राहत सामग्री नेपाललाई उपलब्ध गराएको छ ।

चौथो लटमा ५०० वटा पाल र १०८ वटा राहत प्याकेज समावेश छन् । यूएईले खाद्यान्न, आश्रय, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक राहत र लजिस्टिक सामान उपलब्ध गराइरहेको छ ।

‘प्रभावित क्षेत्रमा सहायता छिटो पुर्‍याउन नेपाली अधिकारीहरूसँग समन्वय गरी स्थानीय बजारबाट पनि आवश्यक सामग्री उपलब्ध गराइँदै छ,’ काठमाण्डुस्थित यूएई दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुबई प्रहरीको खोज तथा उद्धार टोलीले अत्याधुनिक उपकरण र प्रविधि प्रयोग गर्दै बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा कार्य जारी राखेको दूतावासले जनाएको छ । यूएई राहत अभियानका प्रमुख डा. हम्मूद अल अफारीको नेतृत्वमा यो अभियान सञ्चालित छ ।

यसअघि यूएईले नेपाललाई एक करोड अमेरिकी डलर अर्थात् करिब एक अर्ब ५२ करोड रुपैयाँको आपतकालीन राहत सहायता उपलब्ध गराउने घोषणा गरेको थियो । सोहीअनुसार यूएईले नेपालका बाढीपीडितलाई राहत सामग्री उपलब्ध गराउँदै आएको छ ।