होल्डिङ सेन्टरका बाढीपीडितलाई अस्थायी घर दिने सरकारको तयारी, सर्वेक्षण सुरु

होल्डिङ सेन्टरका बाढीपीडितलाई अस्थायी घर दिने सरकारको तयारी, सर्वेक्षण सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका नागरिकका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु गरेको छ।

आपत्कालीन अवस्थामा प्रभावित नागरिकलाई राख्न सञ्चालन गरिएका होल्डिङ सेन्टरमा रहेका नागरिकलाई अब केही हप्ताभित्रै परिवारअनुसार छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने तयारी सरकारले गरेको हो।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लामा टोली परिचालन गरी ‘कोबो टुलबक्स’मार्फत ‘आवश्यकता मूल्याङ्कन फारम’ प्रयोग गरेर सर्वेक्षण गरिरहेको छ।

सर्वेक्षणमार्फत प्रभावित व्यक्ति तथा परिवारको विवरण, घरको क्षतिको अवस्था, परिवारका दिवंगत वा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय लिने वा भाडामा बस्ने इच्छालगायतका विवरण संकलन गरिनेछ।

त्यसैगरी, प्रभावित परिवारसँग जग्गा उपलब्ध भए–नभएको, स्थानान्तरणका लागि उपयुक्त विकल्प, खानेपानी तथा सरसफाइको अवस्था र अन्य आवश्यकताबारे समेत जानकारी लिइने प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालगलृ जनाएको छ ।

हाल होल्डिङ सेन्टरमा रहेका प्रत्येक परिवारको आवश्यकता पहिचान गरी सरकारलाई अस्थायी बसोबाससम्बन्धी योजना कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एक साताभित्र होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण सम्पन्न गर्ने गरी काम भइरहेको छ। त्यसपछि होल्डिङ सेन्टरबाहिर रहेका अन्य प्रभावित परिवारको पनि यही फारममार्फत सर्वेक्षण गरिने बताइएको छ।