काठमाण्डु – गृहसचिव केदारनाथ शर्माले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
गृहसचिव केदारनाथ शर्मालाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरे ।
सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालयको परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरे । उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षरोपण समेत गरे ।
निरीक्षण भ्रमणका क्रममा गृहसचिव शर्माले नेपाल प्रहरी विपद् उद्दार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र, डिजिटल फरेन्सिक ल्याब र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए ।
कार्यक्रममा गृहसचिव शर्माले भोटेकोशी बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीहरू एवम् कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरे । कर्तव्यपालनाका सिलसिलामा घाइते भई जीवन बिताइरहेका सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।
गृहसचिव शर्माले जस्तोसुकै कठिन परिस्थिति एवम् चुनौतीका बाबजुद पनि सदैव अग्रपंक्तिमा खटिएर प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गरे । प्रहरीको मुख्य जिम्मेवारी नै समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्नु, अपराध नियन्त्रण एवम् अनुसन्धान गर्नु भएको उल्लेख गर्दै नेपाल प्रहरीले सीमित स्रोतसाधन, प्रविधि र दक्ष जनशक्तिका बाबजुद अपराधको नियन्त्रण तथा सफल अनुसन्धानका साथै समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम एवम् कानून कार्यान्वयनमा निर्वाह गरेको भूमिका उल्लेखनीय रहेको बताए ।

गृहसचिव शर्माले प्रहरी नागरिकको सबैभन्दा नजिक रहेर काम गर्ने निकाय भएकोले नागरिकका अपेक्षाहरूको सम्बोधन गर्दै आफ्नो काम, कर्तव्य र जिम्मेवारी पुरा गर्न सदैव अग्रसर हुनुपर्ने बताए । ऐन, कानुनले निर्दिष्ट गरेको जिम्मेवारी पूरा गर्न थप सजग, सचेत, इमानदार एवम् कर्तव्यनिष्ठ भई कार्य गर्न उनले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । नेपाल प्रहरीले अझ व्यावसायिक एवम् नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्दै अझ सक्षम र व्यवस्थित रूपमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । प्रहरी कर्मचारीको दक्षता अभिवृद्धि, प्रविधिको विकासका साथै समग्र प्रहरी संगठनको हित एवम् श्रीवृद्धिका लागि गृह मन्त्रालय सदैव क्रियाशील रहेको उनले बताए ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गृहसचिवबाट भएको सारगर्भित, समयसापेक्ष मार्गदर्शक निर्देशनको लागि हार्दिक आभार व्यक्त गर्दै नेपाल सरकार गृहमन्त्रालयबाट नेपाल प्रहरीलाई सधै अभिभावकत्व र मार्गनिर्देशन प्राप्त भएको र नेपाल प्रहरीले आफ्ना काम, कर्तव्यहरू पूर्ण अनुशासित, इमानदारी एवम् निष्ठापूर्वक निर्वाह गर्दै आइरहेको बताए । गृहसचिवबाट भएको अमूल्य निर्देशन समेत पूर्णनिष्ठा, थप उर्जा र उत्साहका साथ अझ प्रभावकारी ढंगले कार्यक्षेत्रमा पालना हुने विश्वास उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कार्कीले विगतको जेनजी आन्दोलन तथा विनाशकारी बाढीमा दिवंगत भएका अमर प्रहरी कर्मचारीहरूप्रति नेपाल प्रहरी संगठनको तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै भोटेकोशी बाढीमा बेपत्ता भएका प्रहरी कर्मचारीहरूको खोजी र अवस्था यकिन गर्न प्रहरी संगठनले हरप्रकारका संयन्त्रहरू परिचालन गरी क्रियाशील रहेको बताए ।
नेपाल प्रहरीले मुलुकको संविधान र ऐन कानुनले निर्दिष्ट गरेको अधिकार र मानव अधिकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरूको परिधिभित्र रहँदै नागरिकको सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहँदै आएको उनले बताए । विपद् प्रतिकार्य, खोज तथा उद्दार लगायतको कार्यमा अग्रपंक्तिमा रही खटिने नेपाल प्रहरीसँग स्रोतसाधनको चरम अभाव रहेको उल्लेख गर्दै तत्काल घटनास्थलमा पुगेर नागरिकको जीउ धनको सुरक्षाका साथै उद्धार कार्यको लागि प्रहरीलाई समयसापेक्ष प्रविधि एवम् स्रोतसाधन युक्त बनाउन गृह मन्त्रालयबाट अभिभावकीय भूमिकाको अपेक्षा रहेको उनले बताए ।
आईजीपी कार्कीले विश्वव्यापी अपराधका चुनौती तथा जोखिमहरूको न्यूनीकरण गर्न समयानुकुल प्रविधिको विकास र क्षमता अभिवृद्धि सहितको पूर्वाधार विकासका साथै समग्र संगठनको विकासमा गृह मन्त्रालयको सदैव महत्वपूर्ण भूमिका रहँदै आएको बताउँदै प्रहरी संगठनलाई अझ बढी व्यावसायिक र मर्यादित बनाउन आगामी दिनमा समेत गृह मन्त्रालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
निरीक्षण भ्रमणको क्रममा गृहसचिव केदारनाथ शर्मासमक्ष नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत संख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्यांक तथा विश्लेषण, प्रहरी कार्य, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, इन्टरपोल शाखाद्वारा सम्पदित कामहरू, प्राप्त वैदेशिक सहायता, चालू आर्थिक वर्षमा सम्पादित मुख्य कार्यहरू, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, भोटेकोशी बाढी सम्बन्धी उद्धार, खोजी तथा राहत वितरणमा नेपाल प्रहरीको योगदान, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति थियो ।




प्रतिक्रिया