उम्लिँदैछ पृथ्वी : अगस्ट बन्यो विश्वकै सबैभन्दा तातो महिना

उम्लिँदैछ पृथ्वी : अगस्ट बन्यो विश्वकै सबैभन्दा तातो महिना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गत अगस्ट पृथ्वीको अहिलेसम्मकै सबैभन्दा तातो महिना बनेको युरोपेली जलवायु सेवा कोपर्निकसले जनाएको छ। मानव सिर्जित जलवायु परिवर्तन र असामान्य रूपमा शक्तिशाली एल निनोको दोहोरो प्रभावका कारण पृथ्वी अहिलेसम्मकै सबैभन्दा तातो भएकाे पाइएकाे हाे ।

अगस्टको अत्यधिक गर्मीका कारण विश्वसहित अमेरिकाले पनि वैज्ञानिकहरूले अहिलेसम्म मापन गरेको उत्तरी गोलार्धकै सबैभन्दा तातो गर्मी अनुभव गरेको जनाइएको छ।

गत महिना विश्वको औसत तापक्रम ६२.५३ डिग्री फरेनहाइट (१६.९६ डिग्री सेल्सियस) पुगेको थियो। यो सन् २०२३ को जुलाईमा कायम भएको विश्वकै उच्च तापक्रमभन्दा प्राविधिक रूपमा ०.०१ डिग्री सेल्सियस बढी हो। तर उक्त अन्तर पनि मापनको अनिश्चितताको सीमाभित्र पर्ने भएकाले दुवै महिनालाई संयुक्त रूपमा अहिलेसम्मकै सबैभन्दा तातो मानिएको कोपर्निकसकी रणनीतिक जलवायु प्रमुख सामन्था बर्गेसले बताइन्।

टेक्सस ए एन्ड एम विश्वविद्यालयका जलवायु वैज्ञानिक एन्ड्र्यु डेस्लरले भने,’तातिरहेको पृथ्वी अझ तातिँदै गएकोमा अब आश्चर्य मान्न छोड्ने बेला आएको छ। वैज्ञानिकहरूले दशकौँअघि नै गरेको पूर्वानुमानअनुसार नै यो भइरहेको छ।’

उनका अनुसार अबको मुख्य प्रश्न पृथ्वीले फेरि तापक्रमका रेकर्ड तोड्छ कि तोड्दैन भन्ने होइन, जलवायु परिवर्तन रोक्न मानवले केही गर्छ कि जलवायु संकटलाई यत्तिकै हेरेर बस्छ भन्ने हो।

विश्वव्यापी रूपमा अगस्टको तापक्रम औद्योगिक युग सुरु हुनुअघिको स्तरभन्दा १.६५ डिग्री सेल्सियस (करिब ३ डिग्री फरेनहाइट) बढी थियो। यो सन् २०१५ को पेरिस जलवायु सम्झौताले दीर्घकालीन रूपमा कायम राख्न लक्ष्य बनाएको १.५ डिग्री सेल्सियसको सीमाभन्दा निकै माथि हो।

कोपर्निकसका अनुसार अहिलेसम्मका सबैभन्दा तातो आठ महिना सन् २०२३ को जुलाईयताका रहेका छन्।

बर्गेसका अनुसार विश्वको जलवायु प्रणाली अहिले एक दशकअघि वैज्ञानिकहरूले अपेक्षा गरेको अवस्थाभन्दा निकै बाहिर सञ्चालन भइरहेको छ। बेलायतसहित विभिन्न क्षेत्रमा यस गर्मीयाममा लगातार तातो हावा चलेको उल्लेख गर्दै उनले जलवायु परिवर्तन अब टाढाको विषय नभई दैनिक जीवनमै असर पार्ने अवस्थामा पुगेको बताइन्।

उनका अनुसार विद्यालय बन्द हुने, अस्पतालमा बिरामीको चाप बढ्ने, सडक पग्लिने र रेलका ट्र्याक बाङ्गिने जस्ता घटना अब अझ धेरै देखिन सक्छन्।

अगस्टमा विश्वका समुद्रको औसत मासिक तापक्रम पनि सन् २०२४ को मार्चमा कायम भएको अहिलेसम्मकै उच्च रेकर्डसँग बराबर भएको कोपर्निकसले जनाएको छ। त्यस्तै, अगस्ट २२ मा विश्वका समुद्रमा अहिलेसम्मकै सबैभन्दा तातो दिन रेकर्ड भएको थियो।

अमेरिकाको राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले पनि बुधबार पहिलोपटक अमेरिकाका तल्लो ४८ राज्यमा सन् १९३६ को विनाशकारी ‘डस्ट बाउल’ अवधिभन्दा पनि तातो गर्मी भएको जनाएको छ।

सन् २०२६ को जुनदेखि अगस्टसम्म अमेरिकाका यी राज्यको औसत तापक्रम ७४.३७ डिग्री फरेनहाइट (२३.५४ डिग्री सेल्सियस) थियो। यो ९० वर्षअघि सन् १९३६ मा कायम भएको रेकर्डभन्दा करिब ०.४ डिग्री फरेनहाइट बढी हो।

कोपर्निकसका अनुसार विश्वव्यापी रूपमा पनि सन् २०२६ को गर्मीयाम सन् २०२४ सँगै अहिलेसम्मकै सबैभन्दा तातो रह्यो।

अमेरिकामा अगस्टले पनि तापक्रमका पुराना रेकर्डहरू ठूलो अन्तरले तोड्यो। महिनाको औसत तापक्रम ७५.५८ डिग्री फरेनहाइट (२४.२१ डिग्री सेल्सियस) पुगेको थियो। त्यस्तै, दिनको औसत अधिकतम तापक्रम ८८.५६ डिग्री फरेनहाइट (३१.४२ डिग्री सेल्सियस) पुगेको थियो, जुन पनि नयाँ रेकर्ड हो।

जुलाईमा पनि अमेरिकाले तापक्रमको नयाँ रेकर्ड कायम गरेको थियो, जसले डस्ट बाउलको दशकौँ पुरानो अर्को रेकर्डसमेत तोडेको थियो।

बर्कले अर्थका जलवायु वैज्ञानिक जेक हाउसफादरका अनुसार तापक्रमका रेकर्डहरू लगातार तोडिनु र परम्परागत रूपमा जुलाईभन्दा कम तातो हुने अगस्टले नै विश्वको उच्चतम तापक्रमको रेकर्ड बनाउनु मानव सिर्जित जलवायु परिवर्तन तीव्र गतिमा बढिरहेको संकेत हो।

कोपर्निकसको तापक्रमसम्बन्धी तथ्याङ्क सन् १९४० देखि उपलब्ध छ। अमेरिकासम्बन्धी एनओएएको तथ्याङ्क सन् १८९५ देखि र विश्वव्यापी तथ्याङ्क सन् १८८० देखि उपलब्ध छ। एनओएए को विश्वव्यापी तथ्याङ्क सामान्यतः कोपर्निकससँग मिल्दोजुल्दो भए पनि त्यसको गणना पूरा हुन केही बढी समय लाग्छ।