उद्धारमा सरकारको कमजोरीले धेरैको ज्यान गयोः प्रचण्ड

उद्धारमा सरकारको कमजोरीले धेरैको ज्यान गयोः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीबाट प्रभावितको उद्धारमा सरकार सुरुदेखि नै गम्भीर नबनेका कारण मृतकहरुको संख्या बढेको आरोप लगाएका छन् ।

जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर प्रारम्भमै प्रभावकारी उद्धार अभियान सञ्चालन गर्न सकेको भए बाढीमा परेका धेरै नागरिकलाई जोगाउन सकिने दाबी गरे ।

‘शुरुदेखि नै स्वदेशी तथा विदेशी विज्ञहरूको सहयोग लिएर व्यवस्थित रूपमा उद्धार गरिएको भए अझ धेरै मानिसको ज्यान बचाउन सकिन्थ्यो’, प्रच(डले भने, ‘ १०–११ दिनपछि पनि मानिसहरू जीवित फेला परेका छन् । यसबाट उद्धारमा भएको कमजोरी स्पष्ट हुन्छ ।’

विपद्को समयमा सरकारले अहंकारभन्दा माथि उठेर संवेदनशील र जनउत्तरदायी भएर काम गर्नुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ थियो ।

उनले बाढीपछि पनि ठूलो संख्यामा नागरिक बेपत्ता रहेकाले खोजी कार्यलाई तीव्रता दिन तथा पीडितका लागि राहत र पुनःस्थापनाको कामलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे ।

रसुवा बाढीलाई प्रचण्डले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको गम्भीर प्रभावको उदाहरणका रूपमा उल्लेख गरे । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र विपद्बाट भएको क्षतिका विषयलाई अझ प्रभावकारी रूपमा उठाउनुपर्ने उनको भनाइ छ ।

‘बढी कार्बन उत्सर्जन गर्ने विकसित देशहरूले नेपालजस्ता प्रभावित देशलाई सहयोग गर्नुपर्छ,’ उनले भने ।

पहाडी क्षेत्रमा विपत्ति पर्दा मधेस र मधेसमा संकट आउँदा पहाडले सहयोग गर्ने परम्परालाई निरन्तरता दिनुपर्नेमा पनि प्रचण्डले जोड दिए ।

‘पहाडमा पीडा हुँदा मधेसले र मधेसमा पीडा हुँदा पहाडले सहयोग गर्ने हाम्रो परम्परालाई अहिले पनि निरन्तरता दिनुपर्छ । यसले राष्ट्रिय एकतालाई थप बलियो बनाउँछ,’ उनले भने ।