काठमाण्डु– हिन्दुकुश हिमालय क्षेत्रमा बढ्दो हिमाली विपद्को जोखिम, त्यसको निगरानी र पूर्वसूचना प्रणालीबारे छलफल गर्न काठमाण्डुमा अन्तर्राष्ट्रिय शिखर बैठक आयोजना गरिएको छ ।
नेपाल सरकार र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को आयोजनामा बुधबारदेखि जारी बैठकमा नेपालसहित चीन, भारत, भुटान, बंगलादेश र पाकिस्तानका सरकारी अधिकारी, हिममण्डल विज्ञ तथा विकास साझेदार संस्थाका ८० भन्दा बढी प्रतिनिधि सहभागी छन्।
लाङटाङ लिरुङमा भएको आइस–रक एभलान्च तथा भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई समेत बैठकमा छलफलको मुख्य विषय बनाइएको छ ।
उच्च जोखिमयुक्त हिमनदी क्षेत्रको पहिचान, नियमित निगरानी, जोखिम पूर्वानुमान र समयमै सूचना प्रवाह गर्ने प्रणालीलाई प्रभावकारी बनाउने विषयमा बैठक केन्द्रित छ ।
इसिमोडका महानिर्देशक डा. पेमा ग्याम्त्सोले लाङटाङमा भएको घटनालाई उत्पत्तिस्थलका आधारमा ‘लिरुङ आइस–रक एभलान्च’ नाम दिन प्रस्ताव गरेका छन् ।
गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा हिमनदीको ढिक्का खसेपछि आएको गेग्रान र लेदोसहितको बाढीले भोटेकोशी–त्रिशूली क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो ।
गृह मन्त्रालयका अनुसार उक्त विपद्मा १ हजार ३९५ जनाको मृत्यु, ५ हजार १३० जना बेपत्ता र ९ हजार ३५८ जना घाइते भएका छन् ।
बैठकबाट हिन्दुकुश हिमालयमा ‘क्यास्केडिङ माउन्टेन रिस्क’ व्यवस्थापनसम्बन्धी संयुक्त कार्ययोजना तयार गर्ने तयारी छ ।
बैठकको अन्तिम दिन बिहीबार विभिन्न देशका राजदूत तथा विकास साझेदारसँग छलफल गरी कार्ययोजना कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने विषयमा समेत छलफल हुनेछ ।




प्रतिक्रिया