बाढी प्रभावित सुरुङमा सेनाको खोजी कार्य जारी, हालसम्म ४ हजार १९१ जनाको हवाई उद्धार

बाढी प्रभावित सुरुङमा सेनाको खोजी कार्य जारी, हालसम्म ४ हजार १९१ जनाको हवाई उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी बाढीपछि नेपाली सेनाले विभिन्न प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ ।

नेपाली सेनाका अनुसार असोज १ गते साँझ ६:३० बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १९१ जनाको उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये ३ हजार ९०८ जना नेपाली र २८३ जना विदेशी छन् । नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली–१ को सुरुङभित्र आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ ।

खोज तथा उद्धारका क्रममा सुरुङभित्र फेला परेका मानव अंग तथा शव निकाल्ने कामसमेत भइरहेको सेनाले जनाएको छ । त्रिशूली–३ ‘ए’को सुरुङ तथा पावर हाउस क्षेत्रमा पनि खोजी कार्य जारी छ । त्रिशूली–३ ‘बी’मा नेपाली सेना सहितको संयुक्त टोलीले ३ वटा एक्स्काभेटर र लोडर प्रयोग गरी पावर हाउस रहेको स्थानमा उत्खनन गरेको थियो ।

उत्खनन्का क्रममा केही फेला नपरे पनि खोजी कार्य जारी रहेको सेनाले जनाएको छ । रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा पनि नेपाली सेनाले जमिनी खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ । त्रिशूलीपारिको कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेत लगायतका स्थानमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको छ ।

स्याफ्रुवेशी क्षेत्रमा ३ वटा समूहले खोजी कार्य गरिरहेका छन् । साँघुरा सुरुङको रेकी, प्रभावित क्षेत्रको खोज तथा मूल्यांकन र सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम क्षेत्रमा ड्रोनमार्फत राहत सामग्री ढुवानी गर्ने कामसमेत भइरहेको सेनाले जनाएको छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ७०० भन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन् । सेनाका अनुसार घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा सहयोग र आपतकालीन उपचार लगायतका काम गरिरहेका छन् ।

बाढीपीडित परिवारलाई धार्मिक संस्कार तथा श्रद्धाञ्जलीसम्बन्धी कार्यमा सहयोग गर्नुका साथै राहत वितरण र आयोजनाका अत्यावश्यक उपकरण ढुवानीमा पनि सहयोग गरिएको सेनाले जनाएको छ ।

यसैबिच नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपतकालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट बिहीबार २८ जनाले स्वास्थ्य सेवा लिएका छन् । हालसम्म सेवाबाट ३ हजार ९६६ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको सेनाको विवरणमा उल्लेख छ ।

बाढीका कारण भासिएर अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३ स्थित शीतल बजारको सडक खुलाउने काम पनि भइरहेको छ । बेत्रावती नदीमा अस्थायी पुल निर्माणका लागि नेपाली सेनासहित अन्य सुरक्षा फौज परिचालन भई काम गरिरहेका छन् ।