आफू र ओली संरक्षक बसेर विद्या भण्डारीलाई अध्यक्ष बनाउने प्रचण्डको प्रस्ताव

आफू र ओली संरक्षक बसेर विद्या भण्डारीलाई अध्यक्ष बनाउने प्रचण्डको प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा र नेकपा एमालेबिच पार्टी एकताको नयाँ खाका अघि सारेका छन् ।

प्रचण्डले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एकीकृत पार्टीको अध्यक्ष बनाउने तथा आफू र एमाले अध्यक्ष केपी ओली संरक्षकको भूमिकामा रहने विकल्प अघि सारेका हुन् ।

पछिल्लो समय एमालेभित्र नेतृत्व पुनर्गठनको बहस तीव्र भइरहेका बेला प्रचण्डले अघि सारेको प्रस्तावले वामपन्थी राजनीतिमा नयाँ ध्रुवीकरणको सम्भावनालाई थप चर्चामा ल्याएको हो । एमाले र नेकपा नेताहरूबिच सहकार्य हुँदै एकतासम्म पुग्ने विषयमा विभिन्न तहमा छलफल चलिरहेका बेला भण्डारीलाई नयाँ पार्टीको नेतृत्वमा ल्याउने विकल्पमा बहस सुरु भएको छ ।

स्रोतका अनुसार केही समयअघि प्रचण्ड पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न बालुवाटारस्थित उनको निवास पुगेका थिए । भेटमा पछिल्लो राजनीतिक अवस्था, कम्युनिस्ट शक्तिबिच सहकार्य र सम्भावित एकताको विषयमा छलफल भएको थियो ।

गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठ–२ भंगालस्थित भण्डारीको निजी निवासमा आगजनी भएपछि उनी त्यसयता बालुवाटारस्थित छोरीको निवासमा बस्दै आएकी छन् ।

प्रचण्डनिकट स्रोतका अनुसार भेटका क्रममा उनले मुलुक गम्भीर राजनीतिक संकटतर्फ उन्मुख भएको र यस्तो अवस्थामा कम्युनिस्ट शक्तिबिच एकता आवश्यक रहेको धारणा राखेका थिए । ‘राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामा पुगेको छ । लामो संघर्ष र बलिदानबाट प्राप्त गणतान्त्रिक व्यवस्था र संविधानमाथि श्रृंखलाबद्ध प्रहार भइरहेको अवस्थामा व्यवस्था र संविधानको रक्षाका लागि पनि कम्युनिस्ट शक्तिबिच एकता आवश्यक छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिलाई कम्युनिस्ट शक्तिहरू अलग–अलग भएर सामना गर्न नसकिने व्याख्या गरेको स्रोतको भनाइ छ ।

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति, त्यसपछिको शक्ति सन्तुलन र आगामी निर्वाचन समेतलाई केन्द्रमा राखेर वामपन्थी शक्तिहरूबिच सहकार्यलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने अवस्था आएको निष्कर्ष प्रचण्डको छ ।

यही पृष्ठभूमिमा प्रचण्डले ओली र आफू कार्यकारी नेतृत्वको प्रतिस्पर्धाबाट बाहिर रहने र भण्डारीलाई अध्यक्ष बनाएर नयाँ आधारमा पार्टी एकता गर्ने विकल्प अघि सारेका हुन् । यसअघि एमालेभित्र अध्यक्ष ओलीको विकल्प खोज्ने बहस तीव्र बनेपछि पनि भण्डारीको नाम नेतृत्वका सम्भावित विकल्पका रूपमा चर्चामा आएको थियो ।

एमाले महासचिव शंकर पोखरेलको नेतृत्व पुनर्गठनसम्बन्धी प्रस्तावमा समेत पार्टीको नेतृत्व र संगठन पुन:संरचनाको बहस अघि बढेको थियो । ओलीले भने नेतृत्व परिवर्तनको प्रस्तावमा असहमति जनाउँदै आएका छन् ।

पछिल्लो समय एमाले र नेकपाबिच सहकार्यको विषय दोस्रो तहका नेताहरूको छलफलमा समेत प्रवेश पाएको छ । एमाले सचिव शेरधन राई र नेकपा नेता वर्षमान पुनबिच गत हप्ता पार्टी एकताबारे अनौपचारिक छलफल भएको समाचारहरू आएका थिए ।

भण्डारीलाई अध्यक्ष र नेकपाबाट पुनलाई महासचिव बनाउने विकल्पबारे समेत छलफल चलेको दाबी स्रोतको छ । एक नेताका अनुसार एकीकृत पार्टीमा ओली र प्रचण्डलाई कार्यकारी जिम्मेवारीबाट अलग राखेर सर्वोच्च सल्लाहकार वा संरक्षकको भूमिकामा राख्ने प्रस्तावमाथि समेत छलफल भइरहेको छ ।

‘विद्याजीलाई अध्यक्ष बनाउन नेकपातिर धेरै आपत्ति छैन । अब प्रचण्डजीले नेतृत्व दाबी गर्नुहुन्न,’ स्रोतले भन्यो ।

ओलीमाथि दबाब बढ्दै गएपछि प्रचण्डको ‘ट्रयाक–टु’

एमालेभित्र अध्यक्ष ओलीको नेतृत्वलाई लिएर विवाद चर्किंदै गएपछि प्रचण्डले औपचारिक वार्ताभन्दा बाहिरबाट एकताको सम्भावना अघि बढाउने रणनीति लिएको स्रोतको दाबी छ ।

एमाले पुनर्गठन कार्यदलमा नेतृत्व परिवर्तनको पक्ष र ओलीको निरन्तरताको पक्षमा २ धार देखिएका छन् । महासचिव शंकर पोखरेल सहितका नेताले नेतृत्व पुनर्गठनको आवश्यकता औंल्याएका छन् भने रामबहादुर थापा ‘बादल’ सहितका नेताको संकटका बेला नेतृत्व परिवर्तनको बहस उचित नभएको तर्क छ । पुनर्गठनको बहसबिच ओली र भण्डारीबिच पनि गत हप्ता भेटवार्ता भएको थियो ।

ओली स्वयं भण्डारीको बालुवाटारस्थित निवासमा पुगेर पार्टीभित्रको संकटबारे छलफल गरेका थिए । ओलीले अप्ठ्यारो परिस्थितिमा साथ दिन आग्रह गरेका थिए भने भण्डारीले सबैलाई मिलाएर अघि बढ्न सुझाव दिएकी थिइन् ।

भण्डारीसँग एमाले महासचिव पोखरेलको भेटवार्ताले पनि पार्टीभित्र नयाँ समीकरणको सम्भावनालाई थप बल दिएको छ । भण्डारीले पुनर्गठनको पक्षमा उभिन पोखरेललाई आग्रह गरेकी थिइन् ।

प्रचण्डले भने एमालेसँगको एकतालाई ओली–प्रचण्ड नेतृत्वको पुरानै ढाँचामा फर्काउनेभन्दा नयाँ नेतृत्व संरचनाबाट अघि बढाउने विकल्प रोजेका छन् । एमालेभित्र उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई सहितका नेताहरू नेतृत्व परिवर्तनको पक्षमा छन् ।

ओलीनिकट दोस्रो तहका नेताहरूले ओलीलाई तत्काल विस्थापित गर्ने प्रयासप्रति असहमति जनाउँदै आएका छन् । यस्तो अवस्थामा प्रचण्डले ओलीलाई तत्काल विस्थापित गर्नेभन्दा उनलाई र आफूलाई कार्यकारी नेतृत्वबाट माथि राखेर नयाँ पुस्ता तथा नयाँ राजनीतिक अनुहारलाई नेतृत्वमा ल्याउने बाटो रोज्न खोजेको स्रोतको दाबी छ ।

एमाले र नेकपाबिच सहकार्यको अभ्यास भने यसअघि नै प्रदेश तहबाट सुरु भइसकेको छ । दुवै दलबिच भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले प्रदेश सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो ।

२०७४ सालमा एमाले र माओवादी केन्द्रबिच चुनावी तालमेल हुँदै २०७५ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो । ओली र प्रचण्ड २ अध्यक्ष रहेको पार्टी सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्किएको थियो ।