जापानमा शक्तिशाली आँधी : प्रतिघण्टा १३० किलोमिटरको हुरी चल्दा ४ जनाको मृत्यु

जापानमा शक्तिशाली आँधी : प्रतिघण्टा १३० किलोमिटरको हुरी चल्दा ४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शक्तिशाली आँधी डुजुआनले टोकियोसहित जापानका आसपासका प्रिफेक्चरमा भारी वर्षा र तीव्र हावाहुरी ल्याउँदा कम्तीमा ४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

आँधीका कारण करिब ५० हजार घरपरिवार विद्युत् सेवाबाट प्रभावित भएका छन् भने सयौँ उडान स्थगित गरिएका छन्। आँधी जापानको पूर्वी तटबाट टाढिँदै गएपछि मंगलबार अधिकांश स्थानमा जारी गरिएका उद्धार तथा सुरक्षित स्थानमा सर्नेसम्बन्धी आदेश हटाइएको थियो।

सोमबार आँधी चरम अवस्थामा पुगेका बेला अधिकारीहरूले ‘ज्यानमा तत्काल खतरा’ रहेको चेतावनी दिँदै करिब १९ लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरेका थिए।

सार्वजनिक प्रसारक एनएचकेका अनुसार कानागावा र चिबा प्रिफेक्चरमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको हो। घटनामा थप ६ जना बेपत्ता रहेको जनाइएको छ।

डुजुआन आँधीमा प्रतिघण्टा १३० किलोमिटरको निरन्तर हावा चलेको थियो भने हावाको अधिकतम झोक्का प्रतिघण्टा १९४ किलोमिटरसम्म पुगेको थियो।

समुद्रको तापक्रम बढाउँदै आँधीको निर्माणलाई थप तीव्र बनाएको ‘सुपर एल निनो’ का कारण प्रशान्त क्षेत्रमा पछिल्लो समय लगातार शक्तिशाली आँधीहरू देखिएका छन्।

जापानी अधिकारीहरूले नागरिकलाई मौसमसम्बन्धी सूचनामा ध्यान दिन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेका थिए।

यस वर्ष जापानमा आएको यो २५औँ आँधी हो। पाँच दिन लामो सार्वजनिक बिदाका बीच आएको डुजुआनका कारण विभिन्न कार्यक्रमसमेत प्रभावित भएका छन्।

‘रक इन जापान’ संगीत महोत्सवमा सोमबार आयोजना हुने भनिएका कन्सर्टहरू रद्द गरिएका थिए। भिडियो गेमसम्बन्धी सम्मेलन ‘टोकियो गेम शो’को सोमबारको कार्यक्रम पनि रद्द गरिएको थियो।