काठमाण्डु – थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेको छ । भारी वर्षापछि शनिबार राजधानीका सबै ५० जिल्लामा विपद्को अवस्था घोषणा गरिएको छ।
विपद् घोषणा भएपछि स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूले आवश्यक उद्धार र राहतका कदम चाल्न सक्नेछन्। बैंककका गभर्नरका अनुसार बिहीबार दिउँसोदेखि राजधानीमा करिब ३०० मिलिमिटर वर्षा भइसकेको छ।
यसपटकको डुबान सन् २०११ को बाढीभन्दा पनि गम्भीर देखिएको जनाइएको छ । सन् २०११ मा थाइल्यान्डमा आएको भीषण बाढीका कारण ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने लाखौँ घरमा क्षति पुगेको थियो। बिहीबार दिउँसोदेखि लगातारजसो वर्षा भएपछि बैंककका सडक डुबानमा परेका छन्।
राजधानीका नहरमा पानीको सतह बढ्दा नहर आसपासका धेरै घर र रेस्टुरेन्टमा पानी पसेको छ। बैंककका गभर्नर चादचार्त सिटिपुन्तले राजधानीको पूर्वी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताए । उनले थप वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरे।
नहर आसपास बसोबास गर्ने मानिसहरूलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै उनले राजधानीका सबै नहर लगभग भरिइसकेको बताए।




प्रतिक्रिया