कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते उद्घाटन हुने, निर्वाचन २१ र २२ गते

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते उद्घाटन हुने, निर्वाचन २१ र २२ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको संशोधित कार्यक्रम सार्वजनिक गर्दै उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाण्डुको टुँडिखेलस्थित खुलामञ्चमा हुने जनाएको छ ।

समितिका अनुसार भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भइरहेकाले महाधिवेशनका कार्यक्रमहरू सोहीअनुसार तय गरिएको छ ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउने अन्तिम मिति असोज १५ गते तोकिएको छ । महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन असोज १६ र १७ गते गरिनेछ ।

यसैगरी, १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते हुनेछ भने बन्द सत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते सञ्चालन हुनेछन् । महाधिवेशनको निर्वाचन कार्यक्रम भने असोज २१ र २२ गते हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत यसअघि वडा तथा गाउँपालिका र नगरपालिकाका अधिवेशन सम्पन्न भइसकेका छन् । हाल प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सञ्चालन भइरहेका छन् ।

भारी वर्षाका कारण केही स्थानमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेकाले पार्टीसँगको समन्वयमा नयाँ कार्यतालिका तय गरिएको समितिले जनाएको छ ।

निर्वाचन कार्यक्रमसँग सम्बन्धित अन्य कार्यक्रम तथा विस्तृत कार्यतालिका पछि प्रकाशित गरिने केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।