कांग्रेस महाधिवेशनमा रवि जाने, बालेन नजाने, अरू को-को नेता सहभागी हुँदैछन् ?

कांग्रेस महाधिवेशनमा रवि जाने, बालेन नजाने, अरू को-को नेता सहभागी हुँदैछन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह पहिलो पटक प्रधानमन्त्रीविहीन हुने भएको छ। असोज १८ गते काठमाडौंको खुलामञ्चमा गर्न लागिएको उद्घाटन समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह नजाने भएका छन्।

कांग्रेसले प्रधानमन्त्री शाहलाई महाधिवेशनका लागि औपचारिक निम्तो नै नदिएको खुलेको छ। प्रधानमन्त्री शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने कांग्रेसले उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा गरेको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रधानमन्त्रीलाई नभई उनको पार्टीलाई निमन्त्रणा गरिएको बताए। उनका अनुसार महाधिवेशनको उद्घाटनमा रास्वपा सभापति रवि लामिछाने सहभागी हुने भएका छन्।

‘हामीले उहाँको पार्टीलाई निमन्त्रणा दिइसकेका छौँ। पार्टीबाट अब को आउँछ भन्ने कुरा हो,’ उनले भने। कांग्रेसको महाधिवेशनमा प्रधानमन्त्रीहरू सहभागी हुने गरेका छन्।

प्रधानमन्त्री कांग्रेसकै सभापति भएको अवस्थामा मात्रै नभएर अरू दलका हुँदा पनि कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने गरेका थिए ।

२०४८ सालमा भएको कांग्रेसको आठौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए। झापामा भएको त्यस महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापति बने ।

२०५३ सालमा भएको नवौँ महाधिवेशनमा कोइराला नै प्रधानमन्त्री थिए। काठमाडौंमा भएको त्यस महाधिवेशनबाट कोइराला नै सभापति बने । २०५७ सालमा पोखरामा भएको दशौँ महाधिवेशनमा पनि कोइराला नै प्रधानमन्त्री र सभापति दुवै पदमा आशिन थिए।

२०६७ सालमा बाह्रौँ महाधिवेशन हुँदा तत्कालीन नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री थिए। काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोहमा नेपालसहित दलका शीर्ष नेता सहभागी भए ।

त्यस्तै २०७२ सालको तेह्रौँ महाधिवेशन उद्घाटन समारोहमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए। २०७८ सालमा काठमाडौंको भृकुटीमण्डपमा भएको चौधौँ महाधिवेशन तत्कालीन प्रधानमन्त्री एमव् कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरे।

२०८२ पुस अन्तिममा कांग्रेसले गरेको दोस्रो विशेष महाधिवेशनमा पनि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की सहभागी भइनन्। तर त्यो विशेष महाधिवेशन थियो । यस पटक कांग्रेसले नियमित अर्थात् १५ औँ महाधिवेशन गर्न लागेको छ।

तर यस पटक कांग्रेसले प्रधानमन्त्री शाहलाई औपचारिक निम्तो नै दिएन। त्यहीकारण कांग्रेस महाधिवेशनमा प्रधानमन्त्री अनुपस्थित हुने भएका हुन् ।

यी शीर्ष नेता सहभागी हुँदै

कांग्रेसका अनुसार महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने निश्चित भएको छ।

उद्घाटनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुने भएका छन्।

त्यस्तै श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल पनि सहभागी हुने कांग्रेसले जनाएको छ।

अन्तर्राष्ट्रिय अतिथितर्फ सोसलिस्ट इन्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन्। अन्य अन्तर्राष्ट्रिय अतिथिको सहभागिता पनि सुनिश्चित गर्ने प्रक्रिया जारी रहेको कांग्रेस प्रवक्ता चालिसेले बताए।

गगनको नेतृत्व

कांग्रेसको १५औँ महाधिवेशन गगनकुमार थापाको नेतृत्वमा हुँदैछ। उनकै नेतृत्वमा २०८२ पुस अन्तिममा भएको दोस्रो विशेष महाधिवेशनले तत्कालीन सभापति शेरबहादुर देउवालाई पाखा लगाएको थियो ।

यस पटक गगन नेतृत्वमा कांग्रेस महाधिवेशनमा होमिँदा देउवा भने चुनदेवीमा बसेर अलग्गै गुट चलाइरहेका छन् । देउवाले पनि आफ्नो समूहका नाममा पन्ध्रौँ महाधिवेशन आगामी मंसिरमा गर्दैछन्। अहिले देउवा समूह वडा अधिवेशनमा व्यस्छ । तर देउवा समूहको अधिवेशनमा भाग लिनेलाई कांग्रेसले कारबाही चेतावनी दिएको छ।

अहिले सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले गरिरहेका छन्। गगन र बालेन दुवै २०८२ फागुन २१ को चुनावमा भावी प्रधानमन्त्रीका रुपमा उत्रिएका थिए । तर गगनले सर्लाही ४ मा चुनाव नै जित्न सकेनन् ।

यता बालेन २०८२ पुस १३ गते रवि लामिछानेसँग भएको ७ बुँदे सहमतिअनुसार नै करिब दुईतिहाइ शक्तिसहित देशको युवा प्रधानमन्त्री बनेका छन् । उनी २०८२ चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका हुन्।

कांग्रेसको पहिलो महाधिवेशन वि.सं. २००६ साल चैत २७ गते भारतको कोलकात्तास्थित भवानीपुरको खालसा हाइस्कुलमा भएको थियो।

त्यसपछि नेपालका जनकपुर,वीरगञ्ज र काठमाडौंमा कांग्रेसका महाधिवेशन भइसकेका छन्। यस पटक पनि कांग्रेसले काठमाडौंमै महाधिवेशन गर्दैछ। यो महाधिवेशनबाट पनि गगन नै सभापतिमा दोहोरिने करिब निश्चित छ।