काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खुलामञ्चलाई राजनीतिक संवाद र असहमतिको खुला थलो बनाउनुपर्ने धारणा राखेको केही घण्टामै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत त्यसको जवाफ दिएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले संसद्देखि राजनीतिक दलसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका थिए । त्यस क्रममा उनले ‘संसद् बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ’ भनेका थिए ।
थापाले खुलामञ्च काठमाण्डुको एउटा चौर मात्र नभएको उल्लेख गर्दै राजनीतिक आन्दोलनमा यसको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । उनका अनुसार खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने वातावरण बनाउँछ ।
थापाको अभिव्यक्तिपछि प्रधानमन्त्री शाहले आईतबार साँझ सामाजिक सञ्जाल फेसबूकमार्फत प्रतिक्रिया जनाएका हुन् । उनले लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’
काठमाण्डु महानगरपालिकाको मेयर रहँदा शाहको नेतृत्वमा खुलामञ्चलाई व्यवस्थित तथा स्तरोन्नति गर्ने काम अघि बढाइएको थियो । प्रधानमन्त्री शाहको टिप्पणीलाई कांग्रेस सभापति थापाको खुलामञ्च, संसद र राजनीतिक दलभित्रको खुलापनसम्बन्धी अभिव्यक्तिप्रतिको राजनीतिक प्रतिक्रियाका रूपमा लिइएको छ ।
‘हामीलाई देशभर खुलामञ्च चाहिएको छ, संसद् र सिंहदरबार पनि खुला हुनुपर्छ’




प्रतिक्रिया