काठमाण्डु – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले गलत तथा गैरकानुनी काम गर्ने व्यक्तिको जिम्मेवारी पार्टीले नलिने बताएका छन् ।
इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्का पक्राउ परेको सन्दर्भमा थापाको यस्तो भनाइ आएको हो ।
शनिबार पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै थापाले कुनै व्यक्तिले गलत काम गरे त्यसको जिम्मेवारी उसैले लिनुपर्ने बताए ।
‘कुनै पनि व्यक्तिले गलत काम गर्छ, गैरकानुनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैँले बोक्नुपर्छ, पार्टीले त्यो भारी बोक्दैन । कुनै व्यक्तिलाई लागेको दाग, दाग हो भने त्यो व्यक्ति आफैँले मेट्नुपर्छ । पार्टीले त्यो भारी बोक्दैन,’ उनले भने ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला महिलातर्फ केन्द्रीय सदस्य पदकी उम्मेदवार रहेकी खड्कालाई इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार खड्कालाई शुक्रबार पक्राउ गरिएको हो । उनी महाधिवेशनमा मत मागिरहेका बेला पक्राउ परेको समाचार सार्वजनिक भएको थियो । थापाले पार्टीलाई व्यक्तिको स्वार्थभन्दा माथि राख्दै कानुन र जवाफदेहिताको पक्षमा उभ्याउने सन्देश दिएका छन् ।
उनको भनाइले पार्टीमा आबद्ध कुनै व्यक्ति गलत काममा संलग्न भएको आरोप लागेमा त्यसको भार पार्टीले बोक्न नहुने मान्यता दोहोर्याएको छ ।
इजरायल पठाउने नाममा ठगी : भोट माग्दामाग्दै पक्राउ परिन् कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार खड्का



प्रतिक्रिया