काठमाण्डु – नेकपा एमाले स्थायी कमिटी बैठकले ७ निर्णय गरेको छ ।
शनिबार सम्पन्न बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीहरूको अधिवेशन र राष्ट्रिय भेला आयोजना गर्नेलगायत ७ निर्णय गरेको छ ।
बैठकको पहिलो दिन वरिष्ठ नेतामा मनोनीत विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । बैठकले पार्टीका वडास्तरका कमिटीहरूको अधिवेशन आगामी मंसिर २६ गते सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुस ४ गते सम्पन्न गर्ने, आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने, राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने निर्णय गरेको छ ।
बैठकले पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने, मधेश प्रदेश सभामा पार्टीका सभासद जैनब खातुनको निधन भएको हुँदा समानुपातिकतर्फको रिक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ ।
बैठकले पार्टीका अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रूपान्तरण गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउनुपर्ने निर्णय गरेको छ ।
बैठकले सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा.पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नविन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) लाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।




प्रतिक्रिया