महामन्त्री जितेपछि पौडेलको आग्रह : तिक्तता बिर्सेर कांग्रेसमा एकता कायम गरौँ

महामन्त्री जितेपछि पौडेलको आग्रह : तिक्तता बिर्सेर कांग्रेसमा एकता कायम गरौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लोकप्रिय मतसहित नेपाली कांग्रेसका महामन्त्रीमा नवनिर्वाचित प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि, मतदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका हुन्। उनले सबैलाई साथमा लिएर पार्टी निर्माणको अभियान अघि बढाउने बताएका छन्।

पौडेलले महाधिवेशनबाट प्राप्त मतलाई आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो पुँजीका रूपमा व्याख्या गर्दै आगामी यात्रामा प्रतिनिधि तथा शुभचिन्तकका सल्लाह र सुझावलाई आत्मसात् गर्ने प्रतिबद्धता जनाएका छन्।

१५औँ महाधिवेशनमा व्यक्त भएको मतले पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न स्पष्ट सन्देश दिएको उनले बताएका छन्। आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा लिँदै उनले विगतका तिक्तता बिर्सेर पार्टीभित्र भावनात्मक एकता कायम गर्नुपर्नेमा जोड दिएका छन्।

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले भनेका छन्।

पौडेलले नेपाली कांग्रेसले विगतमा मुलुकका जटिल समस्याहरू समाधान गर्न खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै वर्तमान राजनीतिक तथा आर्थिक चुनौती सामना गर्न सक्ने समयसापेक्ष पार्टी निर्माण गर्नुपर्ने बताएका छन्।

उनले कांग्रेसलाई आम नागरिकको सुखदुःखको साथी बनाउँदै जनजीविकाको सवाल र लोकतन्त्रको रक्षामा केन्द्रित गर्नुपर्ने उल्लेख गरेका छन्।

जनमुखी, गतिशील र भरोसायोग्य राजनीतिक शक्तिका रूपमा पार्टीलाई रूपान्तरण गर्नु अबको मुख्य प्राथमिकता हुनुपर्ने उनको भनाइ छ।

पार्टीको ऐतिहासिक योगदानलाई सम्मान गर्दै वर्तमान समयका आवश्यकता र नागरिकका अपेक्षाअनुसार कांग्रेसलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिएका पौडेलले जनताका दैनिक समस्या, जीविकोपार्जन र लोकतान्त्रिक मूल्यको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

महामन्त्री पौडेलले १५औँ महाधिवेशन सफल बनाउन अहोरात्र खटिने सबैप्रति आभार व्यक्त गर्दै पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको बताएका छन्।