काठमाण्डु– पछिल्लो समय प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि विभिन्न आरोप लगाएर चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार गम्भीर विवादमा परेका छन्।
उनलेे बागमती प्रदेशकी एकजना महिला सांसदमाथि अश्लील गालीगलौज र धम्की दिएको अडियो जनआस्था अनलाइनले सोमबार सार्वजनिक गरेको छ।
जुन अडियोमा उनलेे ती महिला सांसदलाई अनेकन आर्थिक दबाब दिँदै निजी जेसुकै गरिदिने धम्कीसहित गोप्य भिडियोमार्फत ब्ल्याकमेलिङ गरेको आरोप लागेको छ । उक्त अडियोमा सुनारले आमरूपमा सुन्नै नसक्ने गालीगलौज ती महिलालाई गरेका छन् । जसले उनी गम्भीर विवादमा तानिएका छन्।
सोमबार प्रकाशित जनआस्था साप्ताहिकको अनलाइन संस्करणमा सुनारको भएको दाबी गरिएका चारवटा अडियो संवादमा एक महिला पूर्वसांसदसँग आपत्तिजनक भाषा प्रयोग गरिएको, पैसा मागिएको र ज्यान मार्ने धम्की दिइएको सुनिन्छ।
ती महिला बागमती प्रदेशकी पूर्वराज्यमन्त्रीसमेत रहेको उल्लेख छ। अडियो संवादमा महिलाले सुनारले आफ्नो अश्लील भिडियो बनाएको र त्यसपछि निरन्तर मानसिक तथा शारीरिक यातना दिएको गुनासो गरेकी छन्।
उनले कुटपिट गर्ने, काट्ने र मार्ने धम्की दिएको तथा पैसा नदिँदा थप दुर्व्यवहार हुने गरेको बताएकी छन्।
अडियोमा सुनारले महिलालाई निश्चित समयभित्र पैसा उपलब्ध गराउन दबाब दिएको र राजीनामा दिएर संसदीय दलमा बुझाउन निर्देशन दिएकोसमेत सुनिने समाचारमा उल्लेख छ। महिलाले आफूले भोगिरहेको यातनाबारे प्रश्न गर्दा सुनारले आपत्तिजनक जवाफ दिएको दाबी पनि समाचारमा गरिएको छ।
यस्तै, ती महिलाले तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेसमक्ष समेत आफ्नो पीडा राखेर सुनारलाई सम्झाइदिन आग्रह गरेको जनआस्थाले उल्लेख गरेको छ।
पाण्डेले आफू मुख्यमन्त्री हुँदा एक महिलाले पतिबाट कुटपिट भएको भन्दै उजुरी गरेको प्रसंग सुनाउँदै त्यसबेला घटनाबारे सोधपुछ गरिएको बताएका छन्। तर, उक्त घटनामा आरोपित व्यक्ति अहिलेका सांसद सुनार नै भएको आफूलाई जानकारी नभएको उनको भनाइ छ।
बैंकिङ कारोबारमाथि पनि प्रश्न
समाचारमा सुनारका विभिन्न बैंक खातामा भएका वित्तीय कारोबारमाथि समेत प्रश्न उठाइएको छ। सिटिजन्स, एनआईएमबी, महालक्ष्मीलगायतका बैंक खातामा बेलायत, जापान र भारतसहित विभिन्न देशबाट लाखौँ रुपैयाँ आएको विवरण देखिएको छ। यद्यपि, ती रकम कुन प्रयोजनका लागि पठाइएका हुन् भन्ने स्पष्ट भएको छैन।
विवादपछि फोन बन्द, रास्वपा मौन
विवाद सार्वजनिक भएपछि सांसद सुनारको मोबाइल फोन बन्द रहेको छ। यसैबीच, सांसद सुनारमाथि लागेको आरोपबारे पार्टीको धारणा बुझ्न खोज्दा रास्वपाका प्रवक्ता जगदीश खरेलले तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
आफू काठमाडौं बाहिर रहेको र घटनाबारे पूर्ण जानकारी नभएकाले बुझेर मात्रै प्रतिक्रिया दिन सक्ने उनको भनाइ थियो।
सुनार यसअघि पनि प्रहरी पोसाक खरिदमा अनियमितताको आरोप, प्रहरी महानिरीक्षकसँगको विवाद, प्रस्तावित राजदूत नियुक्तिसम्बन्धी प्रकरण र गाईसम्बन्धी अभिव्यक्तिका कारण विवादमा आएका थिए।
नयाँ आरोप सार्वजनिक भएपछि घटनाको निष्पक्ष छानबिन, आरोपको सत्यतथ्य र पार्टीले लिने कदमबारे चासो बढेको छ।
तर, सार्वजनिक भएको अडियोको स्वतन्त्र प्रमाणीकरण, आरोपसम्बन्धी कानुनी अनुसन्धान र सांसद सुनारको आधिकारिक प्रतिक्रिया आएको छैन । रास्वपा र खगेन्द्रको मौनताले यो घटनालाई झन् रहस्यमय बनाइदिएको छ।



प्रतिक्रिया