काठमाण्डु- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले पार्टीका प्रमुख नेता तथा संगठन विभाग प्रमुख डा. विजयकुमार पौडेलको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय कमिटीको मंगलबार बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरेको हो।
कार्यवाहक अध्यक्ष घनश्याम भुसालद्वारा जारी शोक प्रस्तावमा पौडेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ।
शोक प्रस्तावअनुसार पौडेलको सोमबार दिउँसो स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगेर उपचार गर्ने क्रममा दिउँसो ३ बजे निधन भएको थियो।
किशोरबाटै राजनीतिमा
२०२१ साल चैत १ गते अर्घाखाँचीको खिदिममा जन्मिएका पौडेल कम्युनिस्ट नेता तथा जनवादी सांस्कृतिक आन्दोलनका अगुवा मोदनाथ प्रश्रित र सामाजिक तथा महिला जागरणकी अभियन्ता कविता पौडेलका जेठा सन्तान थिए।
उनी १४/१५ वर्षकै उमेरदेखि विद्यार्थी आन्दोलनमा सहभागी हुँदै राजनीतिमा सक्रिय भएका थिए। राजनीतिक जीवनको सुरुदेखि अन्तिम समयसम्म सक्रिय र समर्पित रहेको पार्टीले जनाएको छ।
पौडेलले २०४४ सालमा तत्कालीन भूमिगत नेकपा मालेको जिल्ला सदस्यका रूपमा जिम्मेवारी सम्हालेका थिए।
२०५० सालमा नेकपा एमाले रुपन्देही जिल्ला कमिटीको उपसचिव बनेका उनी २०५३ सालमा जिल्ला कमिटी सचिव भएका थिए।
२०६५ सालमा एमालेको केन्द्रीय सदस्य र २०७१ सालमा पोलिटब्युरो सदस्य बनेका पौडेल २०७८ सालमा नेकपा एकीकृत समाजवादीको उपमहासचिव भएका थिए। पछिल्लो समय उनी नेकपा (संयुक्त) को संगठन विभाग प्रमुख थिए।
परिवारमा समवेदना
पौडेलका दुई छोरी निष्ठा पौडेल र कावेरी पौडेल तथा छोरा रवि पौडेल छन्। उनकी बुहारी विनिता पौडेल र दुई बहिनीसमेत छन्।
पार्टीले उनको सम्मानमा तीन दिनसम्म झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ।



प्रतिक्रिया