१०९ सामुदायिक विद्यालयको मुहार फेर्दै सरकार, ६ अर्ब ५४ करोड बजेट विनियोजन

१०९ सामुदायिक विद्यालयको मुहार फेर्दै सरकार, ६ अर्ब ५४ करोड बजेट विनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– विद्यार्थीको चाप बढिरहेका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारलाई सरकारले प्राथमिकतामा राखेको छ।

उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयलाई छनोट गरी पूर्वाधार विस्तारको योजना अघि बढाइएको हो।

सरकारले चालु आर्थिक वर्षमा ती विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि छ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।

योजनाको पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ। निकासा भएको बजेटबाट विद्यालयमा आधुनिक सुविधासहितका १२ कोठे तीनतले भवन निर्माण गरिनेछ।

करिब ६ करोड रुपैयाँ लागतमा प्रतिविद्यालय निर्माण हुने भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयलगायतका सुविधा रहनेछन्। सरकारले यसबाट विद्यार्थीका लागि सुरक्षित, व्यवस्थित र प्रभावकारी सिकाइ वातावरण निर्माण हुने अपेक्षा गरेको छ।

मन्त्री पोखरेलले केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप अत्यधिक बढिरहेको तर कतिपय विद्यालय विद्यार्थी अभावमा सञ्चालन भइरहेको अवस्थालाई सरकारले गम्भीरतापूर्वक लिएको बताए ।

“विद्यालयबीचको यही असमानता अन्त्य गर्न ठूला विद्यालयबाट पूर्वाधार सुधारको काम सुरु गरेका हौँ,” उनले भने।

सरकारले आगामी दिनमा सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारलाई समान रूपमा सुदृढ बनाउने लक्ष्य लिएको छ।

मन्त्री पोखरेलले सामुदायिक शिक्षाको रूपान्तरणका लागि शिक्षक, अभिभावक र विद्यार्थीको निरन्तर सहयोग आवश्यक रहेको भन्दै सबै पक्षलाई सहकार्य र हातेमालो गर्न आह्वान गरेका छन् ।