पर्यटक भिसामा आएर धर्म प्रचारमा संलग्न २४ जना कोरियाली नागरिक निष्कासित

पर्यटक भिसामा आएर धर्म प्रचारमा संलग्न २४ जना कोरियाली नागरिक निष्कासित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भिसाको उद्देश्यविपरीत कार्यमा संलग्न भएको आरोपमा २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ ।

अध्यागमन विभागले उनीहरूको भिसा रद्द गर्दै प्रस्थान गरेको मितिले तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने निर्णय गरेको हो ।

विभागका अनुसार नेपाल बसाइ शंकास्पद देखिएको, आचरण संदिग्ध रहेको र प्राप्त भिसाको उद्देश्यविपरीत कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङले उनीहरूलाई अनुसन्धान तथा कारबाहीका लागि विभागमा उपस्थित गराएको थियो ।

ती कोरियाली नागरिक मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालाती मार्गको ‘सुन्दर डाँडा’ क्षेत्रमा रहेको नेपाल न्यू कभनन्ट कलेज (एनएनसीसी) नामक शैक्षिक संस्थाको दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भएका थिए ।

पर्यटक भिसामा नेपाल आएका उनीहरू धार्मिक गतिविधिमा सहभागी भएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको विभागले जनाएको छ ।

विभागका अनुसार उनीहरू सबैको भिसाको म्याद भने कायम नै थियो । तर, भिसाको उद्देश्यविपरीत कार्य गरेको ठहर गर्दै अध्यागमनसम्बन्धी विद्यमान कानुनअनुसार जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

विभागले बुधबार निर्णय गर्दै उनीहरूको भिसा रद्द गरी निष्कासन गरेको हो । निर्णयअनुसार उनीहरू प्रस्थान गरेको मितिदेखि तीन वर्षसम्म नेपाल आउन पाउने छैनन् ।