बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले नगद वितरण

बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले नगद वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरेको छ ।

विकास साझेदार ‘विश्व खाद्य कार्यक्रम’ (डब्लुएफपी)ले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी एकद्वार प्रणाली अपनाई रकम वितरण गरिएको हो ।

स्थानीय तहसँगको समन्वय र सहकार्यमा स्थानीय तहले पहिचान गरेका प्रभावितलाई रकम वितरणको काम भइरहेको छ । रसुवाका ५, नुवाकोटका ४ र धादिङका २ गरी कुल ११ वटा स्थानीय तहका बाढी पीडित घरपरिवारलाई रकम उपलब्ध गराइएको हो ।  

तथ्यांक प्रमाणीकरण गर्न बाँकी रहेका १ हजार ४०० जति घरधुरीलाई पनि ३ दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ ।

असोज २३ गते बसेको केन्द्रसहित ३ वटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोष्टहरुको संयुक्त बैठकले विपद् प्रभावित घरधुरी (लाभग्राही) पहिचान, प्रमाणीकरण तथा शीघ्र पुनर्लाभलाई  व्यवस्थित गर्ने निर्णय गरेको थियो ।

रेडक्रस लगायत अन्य विकास साझेदारहरुले पनि नगद सहयोग गर्न चाहेकाले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार दोहोरो नपर्ने र कोही नछुट्ने गरी सरकारले सहायता उपलब्ध गराउन स्थानीय तह तथा अन्य सम्बद्ध निकायहरूलाई निर्देशन दिइसकेको छ ।

बाढी प्रभावितहरूको दीर्घकालीन पुन:स्थापना र व्यवस्थापनको लागि पनि तीव्ररूपमा काम भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।