मलेसिया जाने श्रमिक ठगी प्रकरण : मेडिकल व्यवसायी कैलाश खड्कासहित ४ जना पक्राउ

मलेसिया जाने श्रमिक ठगी प्रकरण : मेडिकल व्यवसायी कैलाश खड्कासहित ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा तोकिएको शुल्कभन्दा बढी रकम असुल गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रधानमन्त्री कार्यालयको निर्देशनपछि बिहीबार मेडिकल व्यवसायी कैलाश खड्कासहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रविन्द्र केसी, गोरखा नगरपालिका–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–११ महादेवटार बस्ने ४२ वर्षीय प्रविण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने ४५ वर्षीय रामपुकार तिवारी छन्।

सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार मलेसियामा रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्दा नेपाल सरकारले निर्धारण गरेको शुल्कबाहेक म्याक्रोटेक प्रालिको नाममा ‘बायो मेडिकल सर्भिस चार्ज’ उल्लेख गरी गैरकानुनी रूपमा अतिरिक्त रकम असुल गरेको आरोप उनीहरूमाथि छ। यसबाट श्रमिकलाई आर्थिक हानि पुर्‍याई प्रतिवादीहरूले अनुचित आर्थिक लाभ लिएको प्रहरीको भनाइ छ।

सीआईबीले यस प्रकरणबाट पीडित भएकाहरूलाई प्रमाणसहित ब्युरो वा नजिकको प्रहरी कार्यालयमा जाहेरी दिन अनुरोध गरेको छ।

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा स्वास्थ्य व्यवसायीहरूले सिन्डिकेट लगाएको र अतिरिक्त शुल्क असुल गरेको भन्दै यसअघि पनि विरोध हुँदै आएको थियो।

Skip This