काठमाण्डु – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले शनिबार क्यानडासँग दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ।
अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। नेपाल र क्यानडा दुवैका लागि यो खेल अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसर हो। क्यानडा शीर्ष छमा पर्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाबमा छ।
नेपाल लगातार तेस्रो जित निकालेर शीर्ष छमा स्थान सुरक्षित गर्ने योजनामा छ। नेपालले जित निकालेमा एक खेल बाँकी छँदै शीर्ष छमा आफ्नो स्थान सुरक्षित गर्नेछ।
तालिकामा नेपाल क्यानडाभन्दा एक अङ्कले अगाडि छ। नेपालले ३४ खेलबाट १३ जित, १९ हार र दुई बराबरीको नतिजासहित २८ अङ्क जोडेको छ। सातौँ स्थानमा रहेको क्यानडाले ३५ खेलमा ११ जित, १९ हार र पाँच खेलमा अङ्क बाँड्दै २७ अङ्क हासिल गरेको छ।
यस श्रृङ्खलामा नेपालले सुरुआती दुवै खेल जितेको छ। पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक ओमानमाथि ११३ रनको फराकिलो जित निकालेको थियो। यही लय कायम राख्दै क्यानडाविरुद्ध अर्को जित हात पार्ने नेपालको योजना छ।
यता क्यानडा भने पहिलो खेलको हारको बदला लिँदै शीर्ष छमा पर्ने सम्भावना जीवित राख्न चाहन्छ। उसले पछिल्लो खेलमा ओमानलाई ५८ रनले हराउँदै आफ्नो क्षमता देखाइसकेको छ। उक्त खेलमा पहिले ब्याटिङ गरेको क्यानडाले २५६ रन बनाएको थियो। त्यसैले शनिबारको प्रतिस्पर्धामा नेपालले क्यानडाको ब्याटिङलाई रोक्नुका साथै आफ्नो ब्याटिङमा पनि सुधार गर्नुपर्नेछ।
नेपाल र क्यानडाबीच हालसम्म भएका छ एकदिवसीय अन्तरराष्ट्रिय खेलमध्ये नेपालले चार र क्यानडाले दुई खेल जितेका छन्। नेपालले सन् २०२४ मा क्यानडासँग पराजय बेहोरेयता खेलेको पछिल्लो खेलमा जित निकालेको थियो। शनिबारको खेलमा पनि सोही लयलाई निरन्तरता दिने नेपालको लक्ष्य छ।
नेपालले क्यानडालाई हराएमा शीर्ष छमा आफ्नो स्थान सुनिश्चित गर्नुका साथै शृङ्खलाको अन्तिम खेलमा ओमानविरुद्ध दबाब कम गर्न सक्नेछ। तर, पराजित भएमा नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्नेछ।


प्रतिक्रिया