काठमाण्डु– नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगरिने जानकारी दिएका हुन्।
विज्ञप्तिमा बिपी कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमाका दिन सौहार्दता अभिवृद्धि तथा शुभकामना आदान–प्रदानका लागि चियापान समारोह आयोजना गरिएको उल्लेख छ।
त्यसयता निश्चित कारणवश केही वर्षबाहेक कांग्रेसले हरेक वर्ष सोही तिथिमा चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो।
यस वर्ष भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको तथा १ हजार ४ सयभन्दा बढीको मृत्यु र ५ हजारभन्दा बढी बेपत्ता रहेको भन्दै कांग्रेसले दुःखको घडीमा चियापान कार्यक्रम नगर्ने निर्णय गरेको हो। बुढीगण्डकीमा आएको बाढीबाट समेत थप जनधनको क्षति भएको कांग्रेसले जनाएको छ।
कांग्रेस सभापति गगनकुमार थापाले शोकको यस घडीमा चाडपर्व मनाउँदा भड्किलो ढंगले नभई शान्त र संयमित रूपमा परिवारमा सीमित रहेर मनाउन आग्रह गरेका छन्।


प्रतिक्रिया