न्युयोर्क- अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युक्रेनलाई नेटोको सदस्य बनाउनु नहुने बताएका छन्। उनले अमेरिका र युक्रेनबीच औपचारिक सैन्य गठबन्धन नरहेको पनि स्पष्ट पारेका छन् ।
२वे टुनाइटसँगको अन्तर्वार्तामा युक्रेन अमेरिकाको सहयोगी हो कि होइन भनेर सोध्दा भान्सले दुई देश केही विषयमा साझेदार रहेको, तर उनीहरूको हित सधैँ एउटै नहुने बताए।
‘मेरो जानकारीमा युक्रेनसँग हाम्रो औपचारिक गठबन्धन छैन। उनीहरू नेटोमा छैनन्। मलाई लाग्दैन, उनीहरू नेटोमा हुनुपर्छ,’ उनले भने। उनले युक्रेनलाई ‘प्रशंसनीय देश’ भन्दै दुवै पक्ष केही विषयमा सहकार्य गर्ने र केहीमा मतभेद रहने पनि बताए।
युक्रेनी समाचार संस्था उक्रिनफर्मका अनुसार युक्रेनले रुसका ऊर्जा पूर्वाधार, विशेषगरी डिजेल उत्पादन गर्ने केन्द्रमाथि आक्रमण गर्न रोक्नुपर्ने भान्सले बताए।
यस्ता आक्रमणले अमेरिकामा ऊर्जा मूल्य बढाउन सक्ने उनले बताए। ‘के रुसका डिजेल उत्पादन केन्द्रमाथि आक्रमण गर्नुपर्छ, जसले अमेरिकी उपभोक्ताका लागि ऊर्जा महँगो बनाउँछ? पर्दैन,’ उनले भने। यद्यपि, उनले अमेरिका र युक्रेनबीच केही विषयमा सहकार्य जारी रहने बताए।
जेडी भान्सले युक्रेनलाई अमेरिकाको औपचारिक सैन्य सहयोगी नभई केही विषयमा साझेदारका रूपमा चित्रण गरे। उनले रुसका ऊर्जा तथा तेल प्रशोधन केन्द्रमाथि आक्रमण रोक्न किएभलाई आग्रह गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रुसका तेल प्रशोधन केन्द्रमाथि युक्रेनले गरेका आक्रमणको आलोचना गर्दै आएका छन्। ट्रम्पका अनुसार, ती आक्रमणले विश्व बजारमा डिजेलको आपूर्तिमा असर पार्न सक्छ। उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यसको प्रभावलाई बेवास्ता गरेको आरोप लगाएका छन्।
भान्सको भनाइले वासिङ्टन र किएभबीच सहकार्य कायम रहे पनि युक्रेनको नेटो सदस्यता र रुसका ऊर्जा केन्द्रमाथिका आक्रमणबारे मतभेद रहेको देखाउँछ। ‘नेटोका सदस्य राष्ट्रबीच सामूहिक सुरक्षा प्रतिबद्धता हुन्छ’, भान्सले युक्रेन अमेरिकासँग त्यस्तो औपचारिक गठबन्धनमा नरहेको स्पष्ट पारे ।


प्रतिक्रिया