मिस्त्रीखोलाले बगाएर १ जनाको मृत्यु, १ जना बेपत्ता

मिस्त्रीखोलाले बगाएर १ जनाको मृत्यु, १ जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मिस्त्रीखोलाले बगाएर मंगलबार १ जनाको मृत्यु र १ जना बेपत्ता भएका छन् ।

खोलाले बगाएर स्थानीय ६ वर्षीया अनिशा बुढामगरको मृृत्यु भएको र ३ वर्षीया कृष्टिका बुढामगर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेले जानकारी दिए ।

‘दाउरा खोज्न गएका अभिभावकको पछि लागेर गएका बालिकाहरुलाई मिस्त्रीखोलाले बगाएर बेपत्ता बनाएको हो,’ उनले भने, ‘अनिशाको शव भेटिएको छ भने कृष्टिकाको खोजी जारी छ ।’ मृतक र बेपत्ता बालिका २ बहिनीका छोरीहरू हुुन् ।

घटनाको जानकारी हुनासाथ सशस्त्र प्रहरी बल नेपाल प्रहरी र स्थानीयबासी समेतको सहभागितामा बालिकाको खोजी भइरहेको छ ।

यसैबिच नारच्याङका बासिन्दा तमबहादुर चोचाङ्गी पुनले मिस्त्रीखोला जलविद्युत् आयोजनाको गम्भीर लापरबाहीका कारण घटना भएको बताए । ‘बिहान सुकेको खोलामा जलविद्युत् आयोजनाले पूर्वसूचना बिनै बाँधबाट एक्कासि पानी छोडेका कारण बालिकाहरूलाई बगाएको हो,’ उनले भने ।

घटनाको सन्दर्भमा अनुुसन्धान जारी रहेको प्रहरी निरीक्षक गोतामेले बताएका छन् ।