काठमाण्डु – काठमाण्डु महानगरपालिकाले कात्तिक १३, १४ र १५ गते फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ ।
कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्राबाट शुभारम्भ हुने सो फेस्टिभलअन्तर्गत राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर र तारागाउँमा विभिन्न कार्यक्रम आयोजना हुनेछ ।
फिल्म प्रदर्शन साझेदारीका रुपमा जय नेपाल सिनेमा, सवारीसाधन तथा यातायातका लागि अग्नि ग्रूप र इनड्राइभ, अन्तरराष्ट्रिय चलचित्र क्षेत्रसँगको सम्बन्धका लागि काठमाण्डुस्थित अमेरिकी र अष्ट्रेलियन दूतावास, युनेस्को, अलाइन्स फ्रेन्चिजसँग सहकार्य भएको महानगरपालिकाले जनाएको छ ।
यसैगरी विद्युतीय टिकटतर्फ ‘हिमालय पे’सँग सम्झौता भएको छ । दर्शकहरूका लागि फिल्म प्रदर्शन नि:शुल्क हुने र सिट रिजर्भका लागि नि:शुल्क टिकट लिनुपर्ने व्यवस्था गरिएको छ । कार्यक्रम आयोजना हुने स्थलका लागि हनुमानढोका दरबार संग्रहालय विकास समिति, बौद्ध क्षेत्र विकास समिति र तारागाउँ नेक्स्ट म्युजियमसँग सहकार्य भएको महानगरपालिकाले जनाएको छ ।
सम्पदा दौड (हेरिटेज रन) का लागि एनएसआर स्पोर्टस फाउन्डेसन (काठमाण्डु म्याराथन), आतिथ्यताका लागि होटल एसोसिएनसन अफ नेपाल (हान) र नेपाल पर्वतारोही संघ (माउन्टेरिङ एसोसिएसन)सँग कार्यक्रम व्यवस्थापनका लागि माब्रिक्स र आईएसएससँग सम्झौता भइसकेको महानगरपालिकाद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
फेस्टिभल शुभारम्भका अवसरमा ‘भिडियो च्यालेञ्ज’बाट छानिएको एउटा लघु चलचित्र र पुरानो चलचित्र सिन्दूरको खुला प्रदर्शन हुनेछ । नयाँ सडक–जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकमा प्रदर्शन हुने चलचित्र हेर्न सर्वसाधारण सबैलाई खुला आह्वान गरिएको छ ।
फेस्टिभल अवधिमा सर्ट फिल्म भिडियो च्यालेञ्ज, नेपाल पानोरामा र इन्टरनेसनल पानोरामाअन्तर्गत ४० वटा चलचित्र प्रदर्शन गरिनेछन् । महानगरपालिकाले आह्वान गरेको ‘युथ भिडियो च्यालेञ्ज’का विजेताहरुलाई अवार्ड र ‘नेपाल पानोरमा’बाट छानिएकालाई प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरी नेपाल पर्यटन बोर्डमा मास्टर क्लास र अन्तरक्रियात्मक संवादहरू सञ्चालन हुनेछन् । कात्तिक ८ गते आईतबार वसन्तपुरदेखि नर:दे (हाँडीगाउँ), पशुपतिनाथ क्षेत्र हुँदै वसन्तपुरसम्मको हेरिटेज रन आयोजना हुनेछ । नेपाली चलचित्र क्षेत्रको सम्मानका लागि दोस्रो दिन राष्ट्रिय सभा गृहमा ‘रेड कार्पेट’ कार्यक्रम आयोजना हुनेछ ।
काठमाण्डु महानगरपालिकाले चलचित्र विधालाई समुदाय र शिक्षासँग जोडेर रचनात्मक उद्योग प्रवर्द्धनको माध्यमका रूपमा विकास र विस्तार गरिरहेको जनाएको छ । मौलिकता र स्थानीयपनलाई जोगाउँदै स्थानीय रचनात्मक उद्योगसँग पेसाकर्मी, संघसंस्था तथा महोत्सव आयोजकसँग जोड्ने काम भइरहेको छ ।


प्रतिक्रिया