काठमाण्डु – पाकिस्तान र माल्दिभ्स पछिल्लो समय नजिकिएका छन् ।
पाकिस्तानले बंगलादेशपछि माल्दिभ्ससँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको हो । बंगलादेश र माल्दिभ्स भारतका निकट मित्र हुन्, उता पाकिस्तानसँग भारतको शत्रुतापूर्ण सम्बन्ध छ ।
पाकिस्तान र माल्दिभ्सले नयाँ सम्झौताअनुसार व्यापार, रक्षा, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा र पर्यटनलगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न २० वटा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको तीनदिने पाकिस्तान भ्रमणका क्रममा बुधबार इस्लामाबादमा दुवै देशबीच सम्झौतामा हस्ताक्षर भएको हो । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र राष्ट्रपति मुइज्जुले सम्झौतासम्बन्धी कार्यक्रममा सहभागिता जनाएका थिए ।
सम्झौतासँगै दुवै देशले आगामी २ वर्षभित्र द्विपक्षीय व्यापारलाई हालको १ करोड ३९ लाख अमेरिकी डलरबाट बढाएर २० करोड डलर पुर्याउने लक्ष्य राखेका छन् ।
प्रधानमन्त्री सरिफले पाकिस्तान र माल्दिभ्सबीचको सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले व्यापार, अर्थतन्त्र, रक्षा, शिक्षा, स्वास्थ्य र प्राविधिक क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको बताए ।
दुवै देशबिच सूचना प्रविधि, साइबर सुरक्षा, कृत्रिम बौद्धिकता (एआई), डिजिटल सीप, स्वास्थ्य सेवा, औषधि नियमन, लागुऔषध नियन्त्रण, सामाजिक सुरक्षा, कृषि, मत्स्यपालन, रक्षा र सामुद्रिक सुरक्षालगायत क्षेत्रमा समझदारी भएको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा, युवा तथा खेलकुद विकास, प्रहरी तालिम, पर्यटन, हवाई सम्पर्क, कला, संस्कृति र सम्पदा संरक्षणमा पनि सहकार्य गरिनेछ ।
कृषि उपज, खाद्यवस्तु तथा अन्य उत्पादनको व्यापार विस्तार गर्न दुवै देशका व्यापारिक संस्थाबिच पनि समझदारी भएको छ ।
५ वर्षमा ५० लाख बिरुवा रोप्न सहयोग
पाकिस्तानले माल्दिभ्समा ५ वर्षभित्र ५० लाख बिरुवा रोप्ने अभियानमा सहयोग गर्ने भएको छ । प्रधानमन्त्री सरिफले त्यसका लागि १ लाख जैतुनका बिरुवा र विभिन्न प्रजातिका १ लाख बीउ उपलब्ध गराउने घोषणा गरेका छन् ।
जलवायु परिवर्तनको असर न्यूनीकरण, वातावरण संरक्षण, दिगो फोहोर व्यवस्थापन र नवीकरणीय ऊर्जामा पनि सहकार्य गर्ने सहमति भएको छ ।
विद्यार्थी र स्वास्थ्यकर्मी आदानप्रदानमा जोड
पाकिस्तानमा ठूलो संख्यामा माल्दिभ्सका विद्यार्थीले उच्च शिक्षा हासिल गरिरहेका छन् । विशेषगरी स्वास्थ्य क्षेत्रका विद्यार्थी पाकिस्तानका विश्वविद्यालय तथा कलेजमा अध्ययनरत छन् ।
प्रधानमन्त्री सरिफका अनुसार हाल करिब २५० पाकिस्तानी चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी माल्दिभ्समा कार्यरत छन् । दुवै देशले स्वास्थ्य सेवा र शिक्षामा जनशक्ति आदानप्रदान तथा तालिमका अवसर बढाउने सहमति गरेका छन् ।
माल्दिभ्सका राष्ट्रपति मुइज्जुले पाकिस्तानसँगको सम्बन्धलाई नयाँ चरणमा पुर्याउने उद्देश्यले भ्रमण गरिएको बताए । उनले २ देशबिच भएका समझदारीलाई व्यवहारमा कार्यान्वयन गरी जनतालाई प्रत्यक्ष लाभ पुर्याउनुपर्नेमा जोड दिए ।
उनले पाकिस्तान र माल्दिभ्सबिच सिधा हवाई उडान सञ्चालन गर्ने सम्भावनाबारे भएको छलफललाई पनि सकारात्मक रूपमा लिएको बताए । सिधा उडानले पर्यटन प्रवर्द्धन र व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने उनको भनाइ थियो ।
६० वर्षको कूटनीतिक सम्बन्ध
पाकिस्तान र माल्दिभ्सबिच सन् १९६६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यस वर्ष दुवै देशले सम्बन्ध स्थापनाको ६०औँ वर्षगाँठ मनाइरहेका छन् ।
मुइज्जुको यो भ्रमण ११ वर्षपछि माल्दिभ्सका राष्ट्रपतिबाट भएको पहिलो पाकिस्तान भ्रमण हो । भ्रमणका क्रममा उनले पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
दुवै देशका व्यावसायिक समुदायबिच व्यापार तथा लगानीका अवसर पहिचान गर्न पाकिस्तान–माल्दिभ्स व्यापार मञ्चसमेत आयोजना गरिनेछ ।
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल गर्दै प्रधानमन्त्री सरिफले प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार र स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापनाप्रति पाकिस्तानको समर्थन दोहोर्याए । उनले जम्मु–कश्मीर विवादको शान्तिपूर्ण समाधानका लागि पनि पाकिस्तानको अडान प्रस्तुत गरे ।
त्यस्तै सन् २०२५ अप्रिलमा भारतले सिन्धु जल सन्धि स्थगन गर्ने निर्णयप्रति पाकिस्तानको गम्भीर चासो रहेको उनले बताए । साझा जलस्रोतलाई राजनीतिक दबाबको साधन बनाउन नहुने उल्लेख गर्दै सरिफले पानीसम्बन्धी विषयलाई पाकिस्तानले आफ्नो राष्ट्रिय सुरक्षासँग जोडेर हेर्ने चेतावनी दिए ।


प्रतिक्रिया