फेसबुकमाथि अमेरिकी इतिहासकै ठुलो कारबाही, २५ अर्ब डलर जरिवाना

फेसबुकमाथि अमेरिकी इतिहासकै ठुलो कारबाही, २५ अर्ब डलर जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको न्यु मेक्सिको राज्यको एक अदालतले फेसबुकको मातृ कम्पनी मेटा प्लेटफर्म्सलाई प्रयोगकर्ताको व्यक्तिगत तथ्यांकको गोपनीयताबारे उपभोक्तालाई भ्रममा पारेको ठहर गर्दै २५ अर्ब अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ। बुधबार आएको यो आदेश अमेरिकी इतिहासमा कुनै कम्पनीमाथि लगाइएका सबैभन्दा ठूला आर्थिक जरिवानामध्ये एक हो।

न्यु मेक्सिकोका उपभोक्ताको तथ्यांकमा कसको पहुँच थियो भन्ने विषयमा फेसबुकले झुट बोलेको आरोप लगाउँदै राज्य सरकारले मेटाविरुद्ध मुद्दा दायर गरेको थियो। उक्त मुद्दा सन् २०१६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा संलग्न बेलायती राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले लाखौँ फेसबुक प्रयोगकर्ताको अनुमति नलिई उनीहरूको व्यक्तिगत तथ्यांक प्राप्त गरेको घटनासँग सम्बन्धित छ।

निर्णय सुनाउँदै न्यायाधीश फ्रान्सिस म्याथ्युले फेसबुकको गलत कार्य वर्षौँदेखि निरन्तर रूपमा सार्वजनिक हुँदै आएको र यो कम्पनीको मुख्य व्यावसायिक अभ्याससँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गरेका छन्।

राज्यको कानुनअनुसार २१९ अर्ब डलरभन्दा बढी जरिवाना लगाउनुपर्ने आधार देखिए पनि न्यायाधीश म्याथ्युले त्यसलाई घटाएर २५ अर्ब डलर कायम गरेका हुन्। यो निर्णय आएको तीन साताभन्दा बढी समयअघि नै जुरीले कम्पनीलाई दोषी ठहर गरेको थियो।

मेटाका प्रमुख कानुनी अधिकारी सीजे महोनीले कम्पनीले पुनरावेदनबाट निर्णय उल्ट्याउने विश्वास व्यक्त गरेका छन्। उनले न्यु मेक्सिकोको महान्यायाधिवक्ताको कारबाहीको दृष्टिकोण र अदालतको निर्णयले उक्त राज्यमा व्यवसाय सञ्चालन गर्न लगभग असम्भव बनाउने दाबी गरे।

महोनीले यो मुद्दा अनलाइनमा मानिसहरूले के भन्न पाउँछन् भन्ने विषयमा नयाँ नियम लागू गर्न अभिव्यक्तिमाथि कर लगाउने प्रयास भएको टिप्पणी गरेका छन्।

न्यु मेक्सिकोका महान्यायाधिवक्ता राउल टोरेजले भने यो जरिवाना अमेरिकी इतिहासमा कुनै कम्पनीमाथि लगाइएका सबैभन्दा ठूला आर्थिक दण्डमध्ये एक भएको बताएका छन्।

यसअघि सन् २०१९ मा क्याम्ब्रिज एनालिटिका प्रकरणकै सम्बन्धमा अमेरिकी संघीय व्यापार आयोगले मेटालाई पाँच अर्ब डलर जरिवाना गरेको थियो।

क्याम्ब्रिज एनालिटिकासँग सम्बन्धित मुद्दामा अन्य छवटा राज्यले पनि मेटाविरुद्धका आफ्ना मुद्दा ४५ करोड ९२ लाख डलरमा टुंग्याएका थिए। किशोरकिशोरीको मानसिक स्वास्थ्यमा आफ्ना प्लेटफर्मले नकारात्मक असर पारेको भन्ने राज्यहरूको दाबी समाधान गर्न कम्पनीले अगस्टमा विभिन्न राज्यसँग गरेको १७ अर्ब १० करोड डलरको बहुराज्यीय सम्झौताअन्तर्गत ती मुद्दा टुंग्याइएका थिए।

पाँच वर्षअघि दायर भएको थियो मुद्दा

न्यु मेक्सिकोका महान्यायाधिवक्ताले सन् २०२१ मा मेटाविरुद्ध मुद्दा दायर गरेका थिए। त्यसअघि क्याम्ब्रिज एनालिटिकाले तेस्रो पक्षको एउटा एपमार्फत आठ करोड ७० लाखसम्म फेसबुक प्रयोगकर्ताको व्यक्तिगत तथ्यांक संकलन गरेको खुलासा भएको थियो।

राज्य सरकारले फेसबुकले आफ्ना प्रयोगकर्तालाई उनीहरूको तथ्यांकमा कसको पहुँच थियो भन्ने विषयमा गलत जानकारी दिएको तथा प्लेटफर्ममा पोस्ट गरिएका घृणास्पद अभिव्यक्ति र भ्रामक सूचनाको व्यवस्थापनमा लापरबाही गरेको आरोप लगाएको थियो।

मेटालाई तेस्रो पक्षले प्रयोगकर्ताको तथ्यांकमा व्यापक पहुँच पाएको थाहा हुँदाहुँदै त्यसलाई सहन गरेको र कम्पनीको नाफामा फाइदा पुग्ने अवस्थामा घृणास्पद अभिव्यक्ति तथा अन्य हानिकारक सामग्रीलाई निरन्तरता दिएको आरोपसमेत लगाइएको थियो।

हाल अस्तित्वमा नरहेको क्याम्ब्रिज एनालिटिकाले उक्त तथ्यांक मतदाताको विवरण विश्लेषण गर्न र उनीहरूलाई लक्षित राजनीतिक प्रचार अभियान सञ्चालन गर्न प्रयोग गरेको थियो।

बुधबारको निर्णयपछि अल्बुकर्कमा आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता टोरेजले ठूलो प्रविधि कम्पनीलाई जवाफदेही बनाउने काम धेरै समयदेखि बाँकी रहेको बताए।

उनले यो निर्णयले विगतको अवस्थाबाट स्पष्ट परिवर्तन भएको संकेत गर्नुका साथै प्रविधि क्षेत्रमा संलग्न कम्पनीहरूलाई उपभोक्ताको संरक्षण गर्ने राज्यको प्रतिबद्धताबारे कडा सन्देश दिएको बताए।

किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी मुद्दा पनि विचाराधीन

न्यायाधीश म्याथ्युको यो निर्णय यस्तो समयमा आएको छ, जतिबेला मेटाले इन्स्टाग्राम र फेसबुकले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा पारेको प्रभावलाई लिएर हजारौँ मुद्दा र सांसदहरूको दबाब सामना गरिरहेको छ। यस विषयमा अर्को मुद्दाको सुनुवाइ आगामी सातादेखि सुरु हुने तय भएको छ।

यसै वर्षको सुरुवातमा न्यु मेक्सिकोले इन्स्टाग्राम र फेसबुकमार्फत युवाहरूको यौन शोषणलाई सहज बनाएको तथा आफ्ना प्लेटफर्मको सुरक्षाबारे उपभोक्तालाई भ्रममा पारेको आरोपमा भएका दुईवटा मुद्दाको सुनुवाइबाट मेटाविरुद्ध ९४ करोड २० लाख डलरको क्षतिपूर्ति जितेको थियो।

डीए डेभिडसन एन्ड कम्पनीका प्रविधि अनुसन्धान प्रमुख तथा विश्लेषक गिल लुरियाले पछिल्लो निर्णय मेटाका लागि महँगो भए पनि कम्पनीको समग्र मूल्यमा ठूलो प्रभाव पर्ने सम्भावना नरहेको बताएका छन्।

उनका अनुसार मेटाको बजार मूल्य करिब दुई ट्रिलियन डलर रहेको छ र कम्पनीले यस्ता मुद्दामा पुनरावेदन गर्दै कानुनी प्रक्रिया लम्ब्याउने सम्भावना छ।

गत सेप्टेम्बरमा जुरीले मेटा र कम्पनीको नेतृत्वले तथ्यांकको गोपनीयता, घृणास्पद अभिव्यक्ति तथा अन्य विषयमा २६ वटा भ्रामक अभिव्यक्ति दिएको ठहर गरेको थियो। ती अभिव्यक्तिको सम्भावित पहुँचमा रहेका मानिसको संख्यालाई आधार मान्दै जुरीले न्यु मेक्सिकोको उपभोक्ता संरक्षण कानुन ४ करोड ३० लाखभन्दा बढी पटक उल्लङ्घन भएको निष्कर्ष निकालेको थियो।

अक्टोबर १ मा भएको सुनुवाइमा न्यु मेक्सिकोका तर्फबाट बहस गर्ने अधिवक्ता रान्डी म्याकगिनले राज्यलाई ३५ अर्बदेखि ४० अर्ब डलरसम्म जरिवाना दिनुपर्ने माग गरेकी थिइन्।

उनले अदालतले मेटाले बुझ्ने एउटै भाषा पैसा र कम्पनीको सेयर मूल्य भएकाले त्यही माध्यमबाट कडा सन्देश दिनुपर्ने तर्क गरेकी थिइन्।

यता, मेटाले अदालतमा पेस गरेका कागजातमा जरिवाना अधिकतम तीन अर्ब ४५ करोड डलरमा सीमित गर्न आग्रह गरेको थियो। कम्पनीले प्रयोगकर्ताको तथ्यांक बिक्री नगर्ने र न्यु मेक्सिकोले कुनै उपभोक्ता वास्तवमै भ्रममा परेको प्रमाणित गर्न नसकेको दाबी गरेको थियो।