काठमाण्डु – बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाण्डु उपत्यकामा सञ्चालन गरेका नि:शुल्क बस सेवाबाट ३ हजार ५८५ जना नागरिक लाभान्वित भएका छन् ।
दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका नि:शुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको छ ।
नेपाल प्रहरीले सञ्चालन गरेको नि:शुल्क बस सेवाबाट १ हजार ४०६ जना नागरिक लाभान्वित भएका नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजयादशमीका दिन उपत्यकामा ३ वटा बस नि:शुल्क सञ्चालन गरिएका थिए । महानवमीका दिन ५१० जना र विजयादशमीका दिन ८९६ जना नागरिकले सेवा लिएका थिए ।
यसैगरी सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको नि:शुल्क बस सेवाबाट बुधबारसम्म २ हजार १७९ जना सर्वसाधारण लाभान्वित भएका छन् । सशस्त्र प्रहरीले गत सोमबारदेखि २ वटा बसमार्फत सञ्चालन गरेको सेवा शुक्रबारसम्म जारी रहने जनाएको छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सोमबार ४५० जना, मंगलबार ६१६ जना र बुधबार अर्थात् विजयादशमीका दिन १ हजार ११३ जना नागरिकले नि:शुल्क बस सेवा लिएका थिए ।
सहायक प्रवक्ता थापाले सोमबारदेखि सुरु भएको नि:शुल्क बस सेवा शुक्रबारसम्म सञ्चालन हुने जानकारी दिँदै बिहीबार पनि सेवा जारी रहेको बताए ।
दसैँका समयमा टीका थाप्न जाने यात्रुलाई बिना शुल्क सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने उद्देश्यले केही वर्षदेखि सञ्चालन हुँदै आएको २ प्रहरी संगठनको नि:शुल्क बस सेवाबाट नागरिक लाभान्वित भएको र सार्वजनिक यातायातका सवारीसाधनले मनपरी भाडा असुल्ने क्रम रोकिएको आमसर्वसाधारणको भनाइ छ ।


प्रतिक्रिया