काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई अनुबन्ध गरेको छ।
२८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड टी–२० क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित छन्। मध्यक्रममा ब्याटिङ गर्ने उनी छोटो समयमा खेलको अवस्था बदल्न सक्ने क्षमता राख्छन्।
मध्यम गतिका बलरसमेत रहेका रदरफोर्डको आगमनले सुदूरपश्चिमको ब्याटिङसँगै अलराउन्ड क्षमतामा पनि बल पुग्ने अपेक्षा गरिएको छ।
रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय अन्तर्राष्ट्रिय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
उनले एकदिवसीयमा ८७३ तथा टी–२० अन्तर्राष्ट्रियमा १ हजार १२३ रन बनाएका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ८४ रन हो।
टी–२० क्रिकेटमा उनको अनुभव अझ प्रभावशाली छ। उनले विभिन्न घरेलु तथा फ्रेन्चाइज प्रतियोगितासहित २८३ खेलमा ५ हजार ९० रन बनाएका छन्।
यस क्रममा उनले ३२४ छक्का प्रहार गरेका छन्। उनको टी–२० ब्याटिङ स्ट्राइक रेट १४२।०५ छ।
रदरफोर्डले इन्डियन प्रिमियर लिग (आईपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगलादेश प्रिमियर लिग, लंका प्रिमियर लिग, आईएलटी–२० र मेजर लिग क्रिकेटजस्ता चर्चित फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन्।
उनी सन् २०२२ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले सीपीएलको उपाधि जित्दा टोलीका सदस्य थिए। त्यस्तै, सन् २०२०–२१ मा कराँची किङ्सबाट पीएसएलको उपाधि जितेका थिए।
आईपीएलमा रदरफोर्डले सन् २०२५ मा गुजरात टाइटन्सबाट १३ खेल खेल्दै २९१ रन बनाएका थिए। यसअघि उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबाट पनि खेलेका थिए।
मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्ससँग पनि उपाधि जितेका उनी ती सिजनमा भने खेल्ने अवसरबाट वञ्चित भएका थिए।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ र अलराउन्ड क्षमतामा थप बल पुग्ने विश्वास व्यक्त गरे।
‘शेरफन रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीलाई सुदूरपश्चिम रोयल्समा आबद्ध गर्न पाउँदा हामी उत्साहित छौं। उहाँको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवले टोलीलाई बलियो बनाउने विश्वास छ। एनपीएलमा उहाँको उपस्थितिले समर्थकलाई पनि उत्साहित बनाउनेछ। यस सिजन टोलीको लक्ष्यमा उहाँको योगदान महत्वपूर्ण हुने अपेक्षा गरेका छौं,’ खड्काले भने।
रदरफोर्डले पनि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न आफू उत्साहित रहेको बताएका छन्। उनले नेपालमा खेल्ने र नेपाली समर्थकसामु आफ्नो क्षमता प्रदर्शन गर्ने अवसरको प्रतीक्षा गरिरहेको बताए।
‘सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा म निकै उत्साहित छु। एनपीएलमा खेल्ने र नेपाली समर्थकका अगाडि आफ्नो क्षमता देखाउने अवसरको प्रतीक्षामा छु। टोलीसँग मिलेर राम्रो प्रदर्शन गर्ने र समर्थकलाई रोमाञ्चक क्रिकेट दिने मेरो लक्ष्य छ,’ रदरफोर्डले भने।
आक्रामक ब्याटिङ, लामो अनुभव र विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा खेलेको अनुभवका कारण रदरफोर्ड सुदूरपश्चिम रोयल्सका लागि महत्वपूर्ण खेलाडी बन्न सक्नेछन्।
उनको उपस्थितिले एनपीएलको तेस्रो संस्करणमा टोलीको उपाधि यात्रालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया