एनपिएलको तेस्रो संस्करण आजदेखि

एनपिएलको तेस्रो संस्करण आजदेखि

उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम प्रतिस्पर्धा गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै छ । त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र अघिल्ला दुई सिजनमै फाइनल खेलेको सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान)ले लगातार तेस्रो वर्ष एनपिएल आयोजना गरेको हो । यसपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट मान्यता पाएको, चर्चित विदेशी खेलाडी भित्रिएको र डिसिजन रिभ्यु सिस्टम (डिआरएस)को प्रयोग हुने भएकाले एनपिएल झन् विशेष बनेको छ । अघिल्ला दुई सिजनभन्दा एनपिएलको यो सिजन धेरै कोणबाट फरक छ ।

दुई संस्करण सफलतापूर्वक सम्पन्न भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले एनपिएललाई पूर्ण मान्यता दिएको छ ।

एनपिएलको यो सिजनदेखि क्यानले डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रणाली भित्र्याएको छ । यो नेपालमै पहिलोपटक भित्र्याइएको हो । डिआरएस प्रविधिले एनपिएललाई थप विश्वसनीय बनाउने क्यानका सचिव पारस खड्काले बताए ।

देशभरका सात प्रदेशको प्रतिनिधित्व गर्दै सुरु भएको फ्रेन्चाइज प्रतियोगिता अबको एक महिना अर्थात् २१ नोभेम्बरसम्म चल्नेछ । कोशी प्रदेशको प्रतिनिधित्व गर्दै विराटनगर किंग्स, मधेशबाट जनकपुर बोल्ट्स, बागमतीबाट दुई टिम चितवन राइनोज र काठमाडौं गोर्खाज्, गण्डकीबाट पोखरा एभेन्जर्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, कर्णालीबाट कर्णाली याक्स र सुदूरपश्चिमबाट सुदूरपश्चिम रोयल्सले खेल्दै छन् ।

पाकिस्तान टी–२० टिमका कप्तान साहिबजादा फर्हान, दक्षिण अफ्रिकाबाट खेलिरहेका डेबिड मिलर, वेस्ट इन्डिजका चर्चित आन्द्रे रसेल, न्युजिल्यान्डका जिमी निसमलगायत खेलाडीले त्रिवि मैदानमा आफ्नो क्षमता प्रस्तुत गर्नेछन् ।

फर्हान र चर्चित ब्याटर मिलरले कर्णाली याक्सबाट खेल्दै छन् । अलराउन्डर आन्द्रे र श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले विराटनगर किंग्सबाट खेल्दा न्युजिल्यान्डका जिमी निसम, पाकिस्तानका इफ्तिखर अहमद, इंग्ल्यान्डका चर्चित स्पिनर माइन अलीलाई जनकपुरले भित्र्याएको छ ।

त्यस्तै, पोखराले बंगलादेशका चर्चित अलराउन्डर सकिब हल हसन तथा सुदूरपश्चिमले वेस्ट इन्डिजका बलर सेरफन रदरफोर्ड र फेबियन एलेनलाई जोडेको छ । लुम्बिनी लायन्सले बंगलादेशका ब्याटिङ अलराउन्डर सामिम हुसेनलाई अनुबन्ध गरेको छ । चिवतनले पाकिस्तानका मोहम्मद नवाज र इंग्ल्यान्डका रवि बोपरालाई भित्र्याएको छ ।

दोस्रो संस्करणमा विजेता क्लबलाई एक करोड १० लाख पुरस्कार दिएकामा क्यानले यो सिजनको बिजेतालाई एक करोड ५० लाख दिने घोषणा गरेको छ । यो पुरस्कार नेपाली खेलकुदमा दिने सबैभन्दा ठुलो राशीको हो ।

त्यस्तै, उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान हासिल गर्नेले ३० लाख पाउनेछन् । अघिल्लो संस्करणमा दोस्रो हुनेले ५१ लाख, तेस्रोले २५ लाख र चौथोले १५ लाख पाएका थिए । त्यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले कार पाउनेछन् ।