ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ । यससँगै बैंकले लगातार तेस्रो वर्ष उक्त अवार्ड प्राप्त गरेको छ ।

बैंकले सन् २०२४ र २०२५ मा पनि ‘बेष्ट बैंक नेपाल’ विधामा ग्लोबल फाइनान्सको अवार्ड प्राप्त गरेको थियो ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

ग्लोबल फाइनान्सका अनुसार वित्तीय स्रोत परिचालन गर्ने क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र सबल जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको मुख्य आधार बनाइएको थियो ।

समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

सम्मानित हुने संस्थाहरूमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आइसीबीसी, मलेसियाको यूओबी मलेसिया, बंगलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत रहेका थिए ।

ग्लोबल आइएमई बैंकले यो सम्मानले थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहन मिलेको जनाएको छ । अवार्डका लागि बैंकले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय, सेयरधनी, कर्मचारी तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक भएको बैंकले जनाएको छ । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैंक तथा वाणिज्य बैंकहरूलाई विभिन्न विधामा यो अवार्ड प्रदान गर्दै आएको छ ।

बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, सन् २०२२, २०२४ र २०२५ मा ‘युरोमनी अवार्ड फर एक्सलेन्स’, सन् २०२४ मा ‘बेष्ट बैंक ईएसजी नेपाल’ तथा ‘बेष्ट इम्प्लोयर’ लगायतका सम्मान प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक भएको दाबी गर्दछ ।

बैंकका अनुसार हाल देशभर ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालय गरी एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ ।

यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका देशबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ । बैंकले यसबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको जनाएको छ ।