एनपीएलको उद्घाटन खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोज्यो

एनपीएलको उद्घाटन खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोज्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा लुम्बिनीले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ रोजेको हो।

लुम्बिनी लायन्सको कप्तानी रोहित पौडेलले गरिरहेका छन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरेका छन्। दुवै टोली प्रतियोगिताको पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।

प्रतियोगिताको उद्घाटन कार्यक्रम पनि सोमबार आयोजना हुँदैछ। उद्घाटन खेललाई लिएर त्रिवि क्रिकेट मैदान परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले मैदानबाहिर माइकिङ गर्दै सुरक्षा व्यवस्थापन तथा आवश्यक निर्देशन दिइरहेको छ।

यस संस्करणको एनपीएलमा आठ टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता नोभेम्बर २१ अर्थात् मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ।

तेस्रो संस्करणको एनपीएलमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग गरिँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता प्राप्त प्रतियोगिताका रूपमा समेत यस संस्करणलाई नेपाली क्रिकेटको विकासका लागि महत्त्वपूर्ण मानिएको छ।

गत संस्करणको विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिमबीचको उद्घाटन खेलले प्रतियोगिताको सुरुवातमै प्रतिस्पर्धात्मक माहोल सिर्जना गरेको छ। अब दुवै टोलीको प्रदर्शन र पहिलो जित कसले हात पार्छ भन्नेमा क्रिकेटप्रेमीको चासो छ।