विराटनगर भर्सेस चितवन : रसेल र मलानको ‘स्टारडम’

विराटनगर भर्सेस चितवन : रसेल र मलानको ‘स्टारडम’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डुमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा आज विराटनगर किङ्ग्स र चितवन राइनोज आमनेसामने हुँदैछन् ।

खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।

आजको खेलमा विराटनगरले सुपरस्टार आन्द्रे रसेल र चितवनले डेभिड मलानलाई आफ्नो शक्तिको रुपमा मैदान उतार्दै छ ।

‘टी–२०’, ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तरराष्ट्रिय शतकसमेत हानेका इङ्गल्याण्डका चर्चित क्रिकेटर मलान बायाँहाते ब्याटर र लेगब्रेक बलर हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभवी ब्याटरका रूपमा परिचित मलानले गत संस्करणको एनपीएलमा पनि चितवन राइनोजबाट खेलेका थिए ।

इङ्गल्याण्डले सन् २०२२ मा ‘टि -२०’ विश्वकप हात पार्दा मलान महत्त्वपूर्ण सदस्य थिए ।

आजसम्म टेष्ट म्याचमा मलानको एक हजार ७४ रन रहेको छ र टेष्ट म्याचमा उच्चतम स्कोर १४० रहेको छ । यस्तै एकदिवसीयमा ३० खेल खेल्दै एक हजार ४५० रन पूरा गरेका छन् भने उनको एकदिवसीय खेलमा उच्च स्कोर १४० रहेको छ ।

त्यस्तै मलानले टि–२० मा ६२ खेल खेल्दै एक हजार ८९२ रन बनाएका छन् । उनको टि–२० को उच्चतम स्कोर १०३ रहेको छ । उनी आइसिसीको टी–२० अन्तरराष्ट्रिय वरियतामा शीर्ष स्थानमा पुगिसकेका खेलाडी हुन् ।

यता रसेल विश्वभरका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा आफ्नो विष्फोटक ब्याटिङ, प्रभावशाली बलिङ र उत्कृष्ट फिल्डिङका कारण परिचित छन् ।

वेस्ट इन्डिजका अनुभवी खेलाडी रसेललाई टी-२० क्रिकेटका सबैभन्दा खतरनाक अलराउन्डरमध्ये एक मानिन्छ।

रसेलले सन् २०१० मा वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो यात्रा सुरु गरेका थिए।

उनले सन् २०१२ मा श्रीलंकामा भएको आईसीसी पुरुष टी-२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीको सदस्यका रूपमा पनि सफलता हासिल गरेका थिए। सन् २०१६ मा भारतमा भएको टी-२० विश्वकप जित्दा पनि उनी वेस्ट इन्डिज टोलीका महत्त्वपूर्ण सदस्य थिए।

विशेषगरी डेथ ओभरमा आक्रामक ब्याटिङ गर्ने, छक्का प्रहार गर्ने र महत्त्वपूर्ण समयमा विकेट लिने क्षमताका कारण उनी फ्रेन्चाइज क्रिकेटमा निकै लोकप्रिय छन्।

उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल), बिग बास लिग (बीबीएल) लगायत विभिन्न अन्तर्राष्ट्रिय टी-२० प्रतियोगितामा समेत प्रतिभा प्रदर्शन गरिसकेका छन्।