एजेन्सी– सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्यालाको बजारमा सोमबार राति भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् ।
चिकित्सा स्रोत र प्रत्यक्षदर्शीले मङ्गलबार एएफपीलाई दिएको जानकारीअनुसार, अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) को मुख्य आधार रहेको न्यालाको बजारलाई लक्षित गरी आक्रमण गरिएको हो ।
न्यालाका एक बासिन्दाका अनुसार सोमबार राति ८ बजे सहरको उत्तरी भागमा रहेको बजारमा ड्रोन प्रहार भएको थियो । अर्का स्थानीय बासिन्दाले उक्त बजारमा युवाहरू र विशेषगरी आरएसएफका लडाकूहरू आउने गरेको बताए ।
न्याला अस्पतालका एक चिकित्सकले आक्रमणमा २१ जनाको मृत्यु भएको र ४० जनाभन्दा बढी घाइते भएको पुष्टि गरेका छन् । तर, मृतक तथा घाइतेमध्ये कति जना आरएसएफका लडाकू थिए भन्ने यकिन हुन नसकेको उनले बताए ।
सुडानी सेनाले सन् २०२३ को अप्रिलदेखि आरएसएफसँग युद्ध लड्दै आएको छ । सेनाले न्यालामा नियमित आक्रमण गर्दै आएको छ । आरएसएफले न्यालालाई आफ्नो मुख्य आधार बनाउँदै खार्तुमस्थित अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको विकल्पमा छुट्टै सरकार घोषणा गरेको छ ।


प्रतिक्रिया