पूर्वअर्थसचिव घिमिरे स्टाफ कलेजको कार्यकारी निर्देशक नियुक्त

पूर्वअर्थसचिव घिमिरे स्टाफ कलेजको कार्यकारी निर्देशक नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा डा. रामप्रसाद घिमिरेलाई नियुक्त गरेको छ ।
घिमिरे पूर्वअर्थसचिव हुन् । उनले केही महिनाअघि मात्र सचिवबाट अनिवार्य अवकाश पाएका थिए ।

घिमिरेलाई खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकमा नियुक्त गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रतिष्ठानको कार्यकारी निर्देशक यसअघि मन्त्रिपरिदषले नियुक्त गर्ने व्यवस्था थियो ।

उक्त पदमा घिमिरेसहित पूर्वसचिवहरु गोकर्णमणि दुवाडी, डिल्लीराम शर्मा, बाबुराम अधिकारी र अञ्जु मिश्र अन्तिम ५ जनाको सूचीमा परेका थिए । प्रस्तुतीकरण र कार्ययोजनाका आधारमा घिमिरेलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।


४ साउन ०७८ मा सचिवमा बढुवा भएका घिमिरे ५८ वर्षे उमेर हदका कारण ८ फागुन ०८२ मा सेवा निवृत्त भएका थिए । अर्थ र राजश्व सचिव भएर काम गरेका घिमिरे अवकाशअघि उद्योग वाणिज्य तथा आपूर्ति सचिव थिए ।


घिमिरे कार्यकारी निर्देशक नियुक्त भएको प्रतिष्ठानले अधिकृत, उपसचिव र सह–सचिव तहका कर्मचारीको नेतृत्व विकास, कार्यालय सञ्चालन, व्यवस्थापन, कार्यसम्पादन र नागरिक सेवासम्बन्धी तालिम, कर्मचारी प्रशासनका समस्या, नीतिगत चुनौती र समाधानबारे अनुसन्धान तथा प्रशासन सुधार, संस्थागत क्षमता विकास र सार्वजनिक व्यवस्थापनका विषयमा सरकारलाई परामर्श तथा सुझाव उपलब्ध गराउँछ ।